चितवन । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरूङको निधन भएको छ । उहाँको शनिबार बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।
नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहनुभएका गुरूङ विसंं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो । भरतपुर महानगरपालिका-२६ निवासी गुरूङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गर्नुभएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरूङले जानकारी दिनुभयो । नेपाली कांग्रेस विभाजन हुँदा उहाँ प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति हुनुहुन्थ्यो ।
विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिनुभएका गुरूङ चितवन बसाइँसराइ गरी आउनुभएको हो । ७६ वर्षीय गुरूङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो ।
विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गर्नुभएको थियो । गुरूङका छोरा देश बाहिर रहनुभएकाले आइतबार अन्त्येष्टि गरिने छ ।
उहाँका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उहाँका कान्छा छोरा र श्रीमती रहनुभएको छ ।-रासस