सप्तरीमा करेन्ट लागेर दलित दम्पतीको घटनास्थलमै मृत्यु

श्रावण १०, २०८२ |आरएन विश्वास
सप्तरीमा करेन्ट लागेर दलित दम्पतीको घटनास्थलमै मृत्यु

राजविराज । सप्तरीको रूपनी गाउँपालिका-३ स्थित पौवा टोलमा शुक्रबार राति करेन्ट लागेर एक दलित दम्पतीको मृत्यु भएको छ ।

सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर ४७ वर्षीय बालेश्वर खंग र उनकी ४५ वर्षीया श्रीमती रामकुमारी खंगको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

स्थानीयकाअनुसार जीवन गुजाराका लागि बालेश्वरले दैनिक चलाउने सिटी रिक्सा चार्ज गर्दै गर्दा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेका पतीलाई बचाउन गएकी पत्नी रामकुमारीलाई पनि करेन्ट लागेको हो ।

प्रहरीकाअनुसार खंग दम्पतीको घटनास्थलमै मृत्यु भएको थियो । मृतक दम्पतीका दुई छोरा छन् । यो दु:खद घटनाले गाउँ नै शोकाकुल बनेको छ ।

रूपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले परिवारमा एकैपटक आमाबाबु गुमाउँदा ठूलो बज्रपात परेको दुखेसो व्यक्त गर्नुभएकाे छ । उहाँले घटनाले सम्पूर्ण गाउँ शोकमा डुबेको भन्दै परिवारलाई आवश्यक सहयोगको पहल गरिने जानकारी दिनुभयाे ।

प्रहरीले घटनास्थलको मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।