राखेपको कभर्ड हलको स्वरुप फेरियो, छिट्टै सञ्चालनमा आउने

श्रावण ५, २०८२ |प्रदीप लेखी
राखेपको कभर्ड हलको स्वरुप फेरियो, छिट्टै सञ्चालनमा आउने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गरेको चारदशक पुरानो बहुउद्देश्यीय कभर्डहलको अहिले स्वरुप नै परिवर्तन भएको छ । हरेक अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने बेला कभर्ड हलको अवस्थालाई लिएर परिषद्को आलोचना हुँदै आएकोमा अब त्यो अवस्थाको अन्त्य भएको छ । कभर्डहलमा जडान गरिएको एसी, साउण्डप्रुफलगायत चेन्जिङ रुम, सिट, भिआइपी कक्ष आदिको मर्मत तथा तथा रंगरोगनले कभर्डहल चिटिक्क र नेपालकै सुविधासम्पन्न बनेको छ ।

सरकारले चाहे र सम्बन्धित निकायले इमान्दार भएर काम गरे जुनसुकै योजना पनि समयमा सम्पन्न हुनसक्छ भन्ने उदाहरण अहिले त्रिपुरेश्वरस्थित खेलकूद परिषद्को कभर्ड हल र सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बनेको हाइपर्फमेन्स सेन्टर बनेको छ । यी दुवै संरचनाको निर्माण राखेपले तोकेको समयभित्रै सकिएको छ । कभर्ड हल पुनर्निर्माणमा राखेपले ५ करोड बजेटमा काम सक्न २०८२ बैशाख २५ गते सुनकोशी कन्ट्रक्सन प्राइभेट लिमिटेडसंग ठेक्का सम्झौता गरेर काम सुरु गरेको थियो । ६० दिनमा निर्माण सक्ने गरी असार १५ गतेसम्मको मिति तोकिएकोमा कम्पनीले समयमै सकाएको हो । कभर्डहल अब छिट्टै संचालनमा आउने राखेपले जनाएको छ ।

अहिलेसम्म नेपाली खेलकुदको भार धान्दै आएको यो कभर्डमा केही सिट थपिएका छन् भने शौचालय, चेन्जिङ रुम तथा भीआइपी कक्ष पूनरर्निर्माण गरिएका छन् । यसका साथै कभर्ड एसी जडान गरिएका छन् र हललाई साउण्डप्रुफ बनाइएको छ ।

राखेपको यो कभर्डहल बहुउद्देश्यीय भएकाले यहाँ विभिन्न प्रकारका खेल आयोजना हुने गर्छन् । कभर्ड वाताअनुकूलित बन्दा खेलाडी र दर्शकलाई सजिलो त पक्कै हुने छ नै, मार्सल आर्ट विधाका खेलका लागि उपयुक्त हुनेछ । तर धेरै दर्शक हुने भलिबल, बास्केटबल जस्ता प्रतियोगिताका लागि भने सिट अझै कम हुनेछन् ।

पाँच दशक पुरानो कभर्ड हललाई पु्नर्निमाण गरी अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बनाइनु सराहनीय कुरा हो । तर इनडोरमा खेलिने राष्ट्रिय खेल भलिबल, बास्केटबल जस्ता प्रतियोगिताका लागि सिट क्षमता नै नपुग्ने समस्या यथावतै हुँदा राखेपले पुन आलोचना खेप्नुपर्ने त होइन ?


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।