काठमाडौं । विश्वकप विजेता स्पेन यूएफा महिला युरोकप-२०२५ को सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु टोली स्विट्जरल्यान्डलाई २-० ले पराजित गर्दै स्पेनले सेमिफाइनल यात्रा तय गरेको हो ।
वान्कडोर्फ स्टेडियम, बर्नमा दोस्रो हाफमा दुई गोल गर्दै स्पेन १९९७ यता पहिलोपटक युरोको अन्तिम चारमा प्रवेश गर्न सफल भयो । पहिलो हाफमा स्विस डिफेन्स तोड्न नसकेको स्पेनले खेलको सुरूआतमै पेनाल्टीको अवसर गुमाएको थियो ।
दोस्रो हाफको सुरूआतमै मैदान प्रवेश गरेकी कास्टिलोले तीन मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । ७१औं मिनेटमा पिनाले उत्कृष्ट कर्लिङ शटमार्फत दोस्रो गोल गरिन् ।
दोस्रो हाफमा घरेलु टोली पनि पेनाल्टीमा गोल गर्न असफल भयो । अन्तिम समयमा नोएल म्यारिट्जले रातो कार्ड बेहोरेपछि स्विस टोली १० खेलाडीमा सिमित भएको थियो ।
स्विट्जरल्यान्ड पराजित भएपनि उसले स्पेनलाई अहिलेसम्मको सबैभन्दा कठिन चुनौती दिएको थियो । पहिलो पटक क्वार्टरफाइनलसम्म पुगेको स्विस टोलीले घरेलु दर्शकको अपार समर्थन पाएको थियो । खेल हेर्न २९ सय ८०० दर्शक रंगसाला पुगेका थिए ।
अव स्पेनले सेमिफाइनल खेलमा फ्रान्स र जर्मनीबीचको विजेतासँग खेल्नेछ । फ्रान्स र जर्मनीबीचको क्वार्टरफाइनल खेल शनिबार हुँदैछ ।