काठमाडौं । मेजर लिग सकर एमएलएसमा स्टार फरवार्ड लियोनल मेसीको लगातार पाँच खेलसम्मको ब्रेइसको शृंखला अन्त्य भएको छ ।
बिहिबार बिहान सम्पन्न खेलमा एफसी सिन्सिनाटीले इन्टर मयामीलाई ३-० ले पराजित गरेपछि अर्जेन्टिनी स्टार फरवार्डको मेसीको उत्कृष्ट लयमा पूर्ण विराम लगाएको हो ।
३८ वर्षीय मेसीले अघिल्ला पाँच खेलमा लगागार कम्तीमा २ गोल गर्दै कीर्तिमान बनाएका थिए । तर सिन्सिनाटीविरूद्धको खेलमा मयामीले मात्र दुई प्रहार अन टारगेट राख्न सक्यो ।
१६औं मिनेटमा अमेरिकन युवा जेरार्डो भालेन्जुएलाले गोल गर्दै सिन्सिनाटीलाई सुरूआती अग्रता दिलाएका थिए । दोस्रो हाफमा ब्राजिली स्ट्राइकर इभ्यान्डरले ५० र ७०औं मिनेटमा गोल गर्दै मयामीलाई झन् दबाबमा राखे । त्यसपछि दुबै टिमबाट थप गोल हुन नसकेपछि सिन्सिनाटीले ३-० गोल अन्तरको सानदार जित हात पार्यो ।
मेसी खेलको अन्त्यमा सामान्य चोटका कारण असहज देखिए पनि स्थिति चिन्ताजनक नरहेको मयामीले जनाएको छ । यस जितसँगै सिन्सिनाटी इस्टर्न कन्फ्रेन्सको दोस्रो स्थानमा उक्लिएको छ । यसले २३ खेलमा ४५ अंक जोडेको छ । समान खेलमा ३८ अंक रहेको मयामी पाँचौं स्थानमा छ ।