काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पद नै हटाउने र पदाधिकारीको संख्या घटाउने प्रस्तावमा छलफल सुरू भएको छ । एमाले पदाधिकारी बैठकमा पदाधिकारीको संख्या घटाउने प्रस्तावमाथि छलफल भएको हो ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बिहिबार बसेको केन्द्रीय सचिवालयको बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनमा पेस गर्ने विधान संशोधनको प्रस्तावमा छलफल भएको हो ।
विधान संशोधन प्रस्तावमा केन्द्रीय पदाधिकारीको संख्या घटाउने र वरिष्ठ उपाध्यक्ष पद नराख्ने उल्लेख छ । एमालेमा अहिले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव गरी १९ जना पदाधिकारी छन् । अब विधान संशोधन गरेर अध्यक्षसहित ११ वा १३ सदस्यीय पदाधिकारी रहने प्रस्तावमा छलफल भइरहेको नेताहरूको भनाइ छ ।
दिउँसो २ बजेदेखि सुरूभएको सचिवालयको बैठक केहीबेर रोकिएर फेरि सुरू भएको छ । बैठकमा प्रस्तावित विधानलाई लिएर नेताहरूले धारणा राख्ने क्रम जारी छ ।
भदौ २० देखि हुने विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवदेन प्रस्तुत गर्नुहुनेछ भने महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नुहुनेछ ।
त्यसैगरी उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत् गर्नुहुनेछ । प्रस्तावित विधानमा ७० वर्षीय उमेर हदको विषय र पार्टी अध्यक्षका लागि दुइकार्यकालको व्यवस्थासमेत हटाइएको छ ।
७० वर्षीय उमेर हद र दुई कार्यकालको ब्यवस्थालाई लिएर एमालेभित्र दुइ पक्षबीच बहस चलिरहेको छ । सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेको विषयमा समेत छलफल भएको छ ।