ब्राजिलेइराओ सिरी आ: फ्लामेङ्गोलाई पराजित गर्दै सान्तोसले जाेड्याे तीन अंक

श्रावण १, २०८२ |खेल ब्युरो
ब्राजिलेइराओ सिरी आ: फ्लामेङ्गोलाई पराजित गर्दै सान्तोसले जाेड्याे तीन अंक

काठमाडौं । ब्राजिलियन फुटबल लिग ब्राजिलेइराओ सिरी आमा सान्तोसले फ्लामेङ्गोलाई पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोडेको छ ।

घरेलु मैदान भिला बेल्मिरोमा सान्तोसले फ्लामेङ्गोलाई १-० ले पराजित गरेको हो । सान्तोसको जितमा नेयमारले निर्णायक गोल गरे । खेलमा पूर्व स्टार रोबिन्होका १७ वर्षीय छोरा रोबिन्हो जूनियरले सान्तोसको सिनियर टिमबाट पहिलोपटक आधिकारिक प्रतिस्पर्धात्मक खेलमा डेब्यु गरे । 

उनी यसअघि देस्पोर्टिभा फेर्रोभारियाविरूद्धको मैत्रीपूर्ण खेलमा मैदान उत्रिसकेका थिए। खेलको पहिलो हाफ दुबै टोलीबीच प्रतिस्पर्धात्मक देखिए पनि गोल हुन सकेन । बलमा नियन्त्रण फ्लामेङ्गो बलियो देखियो भने सान्तोस काउन्टर अट्याकमा भर परेको थियो ।

पहिलो हाफमा फिका देखिएका नेयमार दोस्रो हाफमा प्रभावशाली बने । खेलको ७८औं मिनेटमा उनले गिल्हेर्मेको पासमा फ्लामेङ्गोका गोलरक्षक रोसीलाई कुनै मौका नदिई गोल गरे । यो गोलले सान्तोसलाई खेलमा अग्रता दिलायो । यो गोल नेयमारको ब्राजिलेइराओमा पुनरागमनपछि पहिलो गोल हो ।

यस जितसँगै सान्तोसले १३ खेलमा १४ अंक जोड्दै १४औं स्थानमा उक्लिएको छ । उ रेलिगेशन जोनबाट पनि बाहिर निस्किएको छ । २७ अंकमा अडि्कएको फ्लामेङ्गो शीर्ष स्थानमा छ । समान २७ अंक जोडेको क्रुजेइरो दोस्रो स्थानमा छ ।