काठमाडौं । शिक्षा विधेयकको सबै विषय टुंगोमा पुगि सकेको छ । तर शिक्षामन्त्री र नेपाली कांग्रेसका कारण अन्तिम समयमा शिक्षा समितिबाट पास हुनबाट रोकिएपछि विधेयक अनिश्चयतर्फ धकेलिएको छ ।
अहिले त सांसदहरू तथा शिक्षकहरू बीच अब यसपालि शिक्षा विधेयक आउँदैन भन्ने चर्चा समेत चल्न थालिसकेको छ। सरकार प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र नेपाल शिक्षक महासंघबीच असार १५ गतेभित्र पारित गर्ने भनी सहमति भएको विद्यालय शिक्षा विधेयक अहिलेसम्म किन अड्किएको हो भन्ने ठोस जवाफ कसैसँग छैन ।
शिक्षक महासंघसँग सहमतिका लागि भन्दै समितिले ५ दिन लागि दिएको समय १० दिन बितिसक्दा पनि बैठक समेत नबसेर प्राथमिकतामा नपर्दा विधेयक नआउने त होइन भने आशंका बढेको हो ।
आन्दोलनरत शिक्षक महासंघसँग छलफलका लागि शिक्षा समितिले सरकारलाई ५ दिनको समय दिएकोमा १० दिन बितिसकेको छ । तर कुनै ठोस प्रगति भएको छैन, बरु शिक्षकहरूले सरकारलाई पुन: आन्दोलनको चेतावनी दिएका छन् ।
शिक्षकको आवधिक बढुवा तृतीय श्रेणीको १० वर्षमा र दोस्रो श्रेणीको १२ वर्षमा हुने र त्यसका लागि औसत ९० अंक ल्याउनु पर्ने प्रावधानमा सहमति हुन नसक्दा विधेयक रोकिएको छ । औसत अंकको सट्टा तोकिए बमोजिम राख्नुपर्ने माग शिक्षक महासंघको छ ।
सरकारसँग भएको सहमति अनुसार अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, बढुवा, विभागीय कारबाही, इसिडी कर्मचारीलगायतका विषय सुनिश्चित हुनुपर्ने माग शिक्षक महासंघको छ ।
यता, नेपाली कांग्रेसले भने आफ्नो कारणले विधेयक नअड्किएको दाबी गरेको छ । विधेयक शिक्षक-विद्यार्थी मैत्री हुनुपर्ने र सरोकारवाला सबै पक्षलाई चित्त बुझाउने गरी पास गर्नुपर्ने पक्षमा काँग्रेस छ ।
शिक्षा समितिले विधेयक तल-माथि नहुने गरी टुंगो लगाइसकेपछि विद्यार्थी, शिक्षक र शिक्षण संस्था सञ्चालकहरूले असन्तुष्टि व्यक्त गर्दै आन्दोलनको चेतावनी दिन थालेका छन् ।
विद्यार्थीहरूले शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा वढी संख्या गनुपर्ने माग गरेका छन् भने निजी विद्यालय सञ्चालकहरूले १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति कुनै हालतमा दिन नसक्ने भन्दै आपति जनाएका छन् ।
समिति सभापति अम्मरबहादुर थापा भने छिट्टै परामर्श समितिको बैठक बसेर विधेयकलाई अन्तिम टुङ्ग्गोमा पुर्याउने भाखा राखिरहनु भएको छ । समितिकै बैठक बस्न नसक्नु र विधेयक पारित गर्न नसक्नुले कतै शिक्षा विधेयक नआउने त होइन भने चिन्ता र चासो सर्वत्र छ । सरकार र दलहरूको रवैया हेर्दा विधेयक नआउने आशंका सहि सावित हुन खोजिरहेको छ।
कान्तिपुर समाचारका लागि क्यामेरामा विनोद कोजूका साथ नारायण किलम्बू काठमाडौ