'साम्बा' अस्ट्रेलियाको ए-लिग क्लब वेलिंगटन फिनिक्समा आबद्ध

श्रावण १, २०८२ |खेल ब्युरो
'साम्बा' अस्ट्रेलियाको ए-लिग क्लब वेलिंगटन फिनिक्समा आबद्ध

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा' अस्ट्रेलियाको ए-लिग क्लब वेलिंगटन फिनिक्समा आबद्ध भएकी छन् ।

सावित्रा सन् २०२५/२६ सिजनका लागि वेलिंगटन फिनिक्ससँग अनुबन्धित भएकी हुन् । वेलिंगटन न्युजिल्यान्डमा अवस्थित क्लब भए पनि अस्ट्रेलियाको शीर्ष महिला डिभिजन लिग 'ए' लिग वुमनमा प्रतिस्पर्धा गर्दै आएको छ । 

वेलिंगटन फिनिक्स महिला टिम सन् २०२१/२२ बाट ए-लिगमा सहभागी हुँदै आएको क्लब हो । क्लबले गत सिजनको लिग नवौं स्थानमा रहेर समाप्त गरेको थियो । ए-लिगमा १२ क्लबको सहभागिता रहने गर्छ । सावित्रा अस्ट्रेलियाको लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

सावित्राले यसअघि फ्रान्सको एन अभान्ट ग्वेंगाम्प क्लबबाट दुई सिजन खेलेकी थिइन् । उनले सामाजिक सञ्जालमार्फत् फ्रेन्च क्लब र सहकर्मीसहित अन्य सपोर्टिङ स्टाफलाई धन्यवाद दिएकी छन् । 

सावित्रासँग इजरायलको हापोएल रानानासहित भारतको गोकलम करला र माल्दिभ्सका क्लबमा समेत खेलिसकेको अनुभव छ । साथै उनले विभागीय टोली नेपाल एपीएफ क्लबबाट घरेलु लिग खेलिसकेकी छन् ।

हालै सम्पन्न एएफसी एसीयन कप-२०२६ को छनोट चरणमा सावित्राले नेपाली टोलीको कप्तानी गरेकी थिइन् । नेपाल घरेलु टोली उज्वेकिस्तानसँग पेनाल्टी शुटआउटमा पराजित भएपछि एसीयन कपमा छनोट हुन असफल भएको थियो ।