बार्सिलोनाको आइकोनिक १० नम्बर जर्सी लमिन यामललाई

श्रावण १, २०८२ |कान्तिपुर टीभी संवाददाता
बार्सिलोनाको आइकोनिक १० नम्बर जर्सी लमिन यामललाई

काठमाडौं । बार्सिलोनाका लमिन यामलले, क्लबको आइकनिक दश नम्बर जर्सी लगाउने पक्का भएको छ । स्पेनिस क्लब बार्सीलोनाले १८ वर्षीय यामललाई आधिकारिक रुपमा दश नम्बरको जर्सी प्रदान गरेको हो ।

यसअघि बार्सीलोनामा दश नम्बरको जर्सी लियोनल मेसीले लगाउने गरेका थिए । गत सिजन उत्कृष्ट प्रदर्शन गरेपछि यामलले दश नम्बर प्राप्त गरेका हुन । उनले १८ गोल र २५ एसिस्ट गरेपछि बार्सिलोनाले गत सिजन घरेलु उपाधिमा ह्याट्रिक गरेको थियो । यामलको शानदार प्रदर्शनको मद्दतमा बार्सिलोनाले ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जितेको हो ।

 च्याम्पियन्स लिगको सेमिफाइनलमा भने बार्सिलोना पराजित भएको थियो । यामलले, गत सिजन १९ नम्बरको जर्सी लगाएका थिए । मेसीको उत्तराधिकारीको रुपमा हेरिएका यामल र बार्सिलोनाबीच लामो समयको सहकार्य पनि भएको छ । यामल सन् २०३१ सम्म नोउ क्याम्पमा रहनेछन् । बार्सिलोनाका अध्यक्ष योहान लापोर्टाले विशेष समारोहका बीच यामललाई दश नम्बर जर्सी हस्तान्तरण गरेका हुन् । नोउ क्याम्पमा दश नम्बरको जर्सीको ठूलो भार रहेको छ । मेसीले दश नम्बरको जर्सीमा बार्सिलोनाका लागि ३४ उपाधि जितेका छन् । 

 अर्जेन्टाइन स्ट्राइकर मेसी बार्सिलोनाका सर्वाधिक गोलकर्ता पनि हुन् । उनले २०२१ मा क्लब छोड्नुअघि ६ सय ७२ गोल गरेका थिए । मेसीभन्दा अघि डियागो म्याराडोना र रोनाल्डिन्होले दश नम्बर जर्सी लगाएका थिए । मेसीको बर्हिगमनपछि बार्सिलोनाले अंशु फातीलाइ १० नम्बर दिएको थियो । तर फातीले दश नम्बर जर्सीको भार थेग्न सकेनन् । फाती हाल लोनमा मोनाकामा रहनेछन् । यामलले, आफ्नो पहिलो सपना बार्सीलोनाबाट डेब्यु गर्ने र दश नम्बरको जर्सी लगाउने रहेको उल्लेख गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.