धरान र इटहरीमा बजेट शून्यता, धरानले बजट नै ल्याउन नसक्दा इटहरीमा पारित भएन

श्रावण १, २०८२ |कान्तिपुर टीभी संवाददाता
धरान र इटहरीमा बजेट शून्यता, धरानले बजट नै ल्याउन नसक्दा इटहरीमा पारित भएन

काठमाडौं । कोशी प्रदेशका दुई उपमहानगर इटहरी र धरानमा बिहीबारदेखि बजेट शून्यता आएको छ । 

धरानले बजेट नै नल्याउँदा र इटहरीले नगरसभाबाट आगामी आर्थिक वर्षको लागि बजेट पारित गराउन नसक्दा यी दुई उपमहानगरमा बजेट शून्यताको अवस्था आएको हो ।

धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रविक्रम बेघाबीचको मतभेदले आर्थिक वर्ष २०८२/८३ को बजेट पारित हुन नसक्दा उपमहानगर बजेट शून्यताको अवस्थामा पुगेको हो । 

अघिल्लो वर्ष पनि नगरप्रमुख साम्पाङ र वडाध्यक्षहरूबीचको विवादले निर्धारित समयमा बजेट पेस गर्न नसकेको धरान उपमहानगर यस वर्ष पनि किचलोमा फसेको हो । गत असार २ र ३ गते श्रमदानको विषयलाई लिएर नगरप्रमुख र उपप्रमुखबीच उत्पन्न विवादले झडप नै भएको थियो । 

बजेट बनाउने अन्तिम समयसम्म विवाद नसुल्झिँदा यसको प्रभाव बजेट निर्माण परेको हो । उपप्रमुखसहित २८ जना कार्यपालिका सदस्यले कानुनी प्रक्रिया र आवश्यक तयारी पूरा नगरी कार्यपालिका बैठक बस्नुको औचित्य नहुने भन्दै पत्र बुझाएपछि नगरप्रमुख साम्पाङले बैठक स्थगित गर्नुभएको थियो । त्यसयता पटक पटक प्रयास भए पनि बजेट निर्माणको कामले पूर्णता नपाउदा शून्यताको अवस्थामा पुगेको हो ।

इटहरी उपमहानगरपालिका पनि बजेट शून्यताको अवस्थामा पुगेको छ। असार १० गते उपमहानगरपालिकाका तर्फबाट उपप्रमुख संगीता चौधरीले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेट पारित नहुँदा बजेट शून्य अवस्थामा पुगेको हो । 

इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले अनुसूची विनाको बजेट पास गर्न खोजेपछि उपप्रमुख चौधरीले असहमति जनाउँदा बुधबारको नगरसभा अनिश्चित कालका लागि स्थगित भएको छ । 

उपप्रमुख चौधरीले अनुसूची विनाको बजेट निर्णयका लागि नगरसभामा पेश गर्न नसकिने जानकारी दिएपछि प्रमुख पौडेलले सहमतिका साथ अगाडि बढ्ने वाचा गर्दै अर्को सूचनाजारी नभएसम्मका लागि नगरसभा स्थगित गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.