सप्तरीमा वैदेशिक रोजगारीको प्रलोभन दिई युवा ठग्ने गिरोह सक्रिय, भिजिट भिसामा जानेहरू अलपत्र

श्रावण १, २०८२ |आरएन विश्वास
सप्तरीमा वैदेशिक रोजगारीको प्रलोभन दिई युवा ठग्ने गिरोह सक्रिय, भिजिट भिसामा जानेहरू अलपत्र

सप्तरी । सप्तरीमा वैदेशिक रोजगारीको आकर्षक प्रलोभनमा पारेर सर्वसाधारण युवालाई ठग्ने गिरोह नै सक्रिए भएको पाइएको छ। 

लग्जेमबर्ग, अजरबैजान, मौरिससलगायतका मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै युवाहरूबाट दलालहरूले मोटो रकम असुल्ने गरेका छन् । भिजिट भिसामा दुबई पुर्‍याएर उतैबाट युरोपका मुलुकहरूमा पठाइदिने भन्दै त्यहाँ पुर्‍याएर अलपत्र पार्ने गरेका छन्।

मासिक ४ देखि ५ लाख रूपैयाँसम्म कमाई हुने भन्दै मोरिसस, लक्जमबर्ग अजरबैजान जस्ता देश पठाइदिने नाममा सातरी जिल्लामा ठगी गर्ने क्रम बढेको छ। वैदेशिक रोजगारीको नाममा हुने मस्ता दगीको कारबाही गर्ने अधिकार जिल्ला-जिल्लामा नहुनु र कारबाही गर्ने, आधिकारिक निकाय वैदेशिक रोजगार विभाग गम्भीर नहुँदा गाउँघरमा ठगिने क्रम बढ्दै गएको हो।

सप्तरीको डॉक्रेरखवरी नगरपालिकाका घुटन दुपारसँग पांचजना अजरबैजानको नाममा २० लाख रूपैयाँ एजेन्टबाट ठगीमा परे । यतिमात्रै नभई सप्तरीकै विष्णुपुर गाउँपालिकाका एजेन्ट महादेव साहले जिल्लाका १० जनालाई वैदेशिक रोजगारीमा पठाइदिने नाममा २५ लाख रूपैयाँ लिएर ३ जनालाई मात्रै पठायो । तर, दुबई पठाएका ती तीनजना युवालाई पनि भिजिट भिषामा पठाइदिँदा जेलसम्मको पीडा भोग्नुपरेकोले बीचमै फर्किएको पीडितहरूको भनाइ छ।

तर, वैदेशिक रोजगारीको नाममा ठगीमा परेकाहरूले महादेव साह माथि दवाब दिँदै रकम फिर्ताको माग गरेपछि उनी सम्पर्कविहिन बनेको र परिवारमार्फत अपहरण भएको नाटक गर्दै प्रहरी समक्ष पुगेपछि थप गाउँमा त्रासको स्थिति उत्पन्न भएको छ। 

स्थानीयहरूले गुहार गर्दै रकम फिर्ता गराइदिन र अपहरणको नाटक गर्ने साहमाथि कारबाहीको माग गर्दै सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालय पुगेका छन् । यता प्रहरीले रकम फिर्ताको नाममा एजेन्टमाथि कुटपिट भएको विषय पनि आएकोले अनुसन्धान भइरहेको जनाएको छ । तर, वेदैशिक रोजगारिको नाममा जसरी ठगीमा परेकाहरूको निवेदन दर्ता नहुँदा कारबाही अगाडी बढाउन कानुनी प्रतिकुलता भएको प्रहरीको भनाइ छ ।

वैदेशिक रोजगारीको नाममा आकर्षक तलब पाउने प्रलोभन देखाई विदेश पठाइदिने भन्दै सप्तरीमा हालसम्म एक करोड बढीको ठगी भईसकेको छ। रोजगारीमा जाने भन्दै ऋण लिएर एजेन्टलाई रकम बुजाउँदा पनि केही भिजिट भिषामा ठगिने र धेरै जान नपाउने जस्ता विकृति हटाउन वैदेशिक रोजगार विभाग सहितका निकायहरू गम्भीर हुन जरूरी छ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।