रामेछाप । सेवाग्राहीलाई प्रभावकारी र सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रामेछापले विद्युतीय टोकन प्रणालीको सुरूआत गरेको छ। बिहीबारबाट लागू गरिएको यस प्रणालीले सेवा लिने क्रमलाई व्यवस्थित गर्दै सेवाग्राहीको समय र श्रम दुबै बचाउने अपेक्षा गरिएको छ।
कार्यालयमा सेवाग्राहीको चाप बढ्दै गएको सन्दर्भमा छिटो आउनेको छिटो काम होस् भन्ने सोचका साथ टोकन प्रणाली सुरू गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनुभयो ।
सबैभन्दा धेरै चाप हुने नागरिकता तथा प्रतिलिपि शाखा, राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखामा यो प्रणाली लागू गरिएको छ। प्रजिअ थापाले रामेछाप नगरपालिकाको सहयोगमा टोकन प्रणाली जडान गरिएको भए पनि पूर्ण कार्यान्वयनमा आउन केही दिन लाग्ने जानकारी दिनुभयो।
सेवा प्रवाहलाई नागरिकमैत्री, पारदर्शी र सुशासनमुखी बनाउन टोकन प्रणाली सहयोगी हुने जिल्ला प्रशासन कार्यालयको छ। रामेछाप नगरपालिका-८ का सेवाग्राही लेखबहादुर विकले टोकन प्रणालीले छिटो आउनेको छिटो काम हुने भएकाले सेवाग्राहीलाई समान व्यवहार मिलेको महसुस भएको बताउनुभयो ।