इटाली २८ वर्षपछि महिला युरो कपको सेमिफाइनलमा प्रवेश

श्रावण १, २०८२ |कान्तिपुर टीभी संवाददाता
इटाली २८ वर्षपछि महिला युरो कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । इटाली २८ वर्षपछि महिला युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इटालीले नर्वेमाथि दुई-एक गोलको रोमान्चक जीत हात पारेको हो ।

स्विटजरल्यान्डको स्टाड डि जेनेभामा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । इटालीले खेलमा नियन्त्रण राखे पनि अग्रता लिन भने सकेन । ३६ औं मिनेटमा नर्वेले अग्रता लिने सुनौलो अवसर पाएको थियो । तर आदा हेगरबर्गको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ५० औं मिनेटमा इटालीले डेडलक तोड्यो । उसका लागि कप्तान क्रिस्टियाना जिरेलीले गोल गरेकी हुन् । ६० औं मिनेटमा नर्वेले पेनाल्टीमार्फत् गोल गर्दै खेल बराबरी गर्ने अवसर प्राप्त गर्यो । तर कप्तान हेगरबर्ग पेनाल्टीमा चुकिन् । उनको प्रहार बाहिरिएको थियो । 

जारी प्रतियोगितामा हेगरबर्ग पेनाल्टीमा चुकेको यो दोस्रो पटक हो । यसका बाबजुद हेगरबर्गले आफ्नो गल्ति सच्याइन् । ६६ औं मिनेटमा उनैको गोलमार्फत् नर्वे खेलमा फर्किएको थियो । तर ९० औं मिनेटमा जिरेलीले गोल गरेपछि इटाली नर्वेलाई स्तब्ध पार्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो । यसअघि नर्वेले सन् १९९७ मा सेमिफाइनल खेलेको थियो । त्यसबेला इटाली उपविजेता बनेको थियो । ३५ वर्ष ८४ दिनकी जिरेली महिला युरोको नक आउटको एकै खेलमा दुई गोल गर्ने सबैभन्दा पाको उमेरकी खेलाडी हुन् । 

१९९७ मा स्पेनलाई पराजित गर्दै युरो फाइनल प्रवेश गरेयता इटालीले प्रमुख प्रतियोगिताको नक आउटमा मात्र एक खेल जितेको थियो । उसले गए रातिको खेलअघि , २०१९ को फिफा विश्वकपको राउन्ड अफ १६ मा चीनलाई पराजित गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.