महिला युरो २०२५- पहिलो क्वार्टरफाइनलमा आज राति नर्वेले इटालीको सामना गर्ने

असार ३२, २०८२ |खेल ब्युरो
महिला युरो २०२५- पहिलो क्वार्टरफाइनलमा आज राति नर्वेले इटालीको सामना गर्ने

काठमाडौं । महिला युरो २०२५ को पहिलो क्वार्टरफाइनलमा बुधबार राति पौने एक बजे नर्वेले इटालीको सामना गर्नेछ। विश्व वरियताको १६औं स्थानमा रहेको नर्वेले आज १३ औं स्थानको इटालीको सामना गर्ने लागेको हो ।

जेनेभामा नर्वेली कप्तान आडा हेगेरबर्गले टोलीलाई यो खेललाई निकै महत्वपूर्ण भनेकी छन् । दुई पटक फिफा महिला विश्वकपको फाइनलमा पुगेको नर्वे सन् १९९५ को च्याम्पियन हो । 

उसले युरो कप दुई पटक जितेको छ भने चार पटक फाइनलमा पराजित भएको छ। कप्तान हेगेरबर्गले सन् २०१३ को फाइनल खेल्दै जर्मनीसँग १-० ले हार बेहोरेकी थिइन् । 

त्यसयता नर्वेले दुई संस्करणमा समूह चरण पार गर्न सकेको थिएन । तर, यो पटक उनीले समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै उत्कृष्ट पुनरागमन गरेका छन् । स्विट्जरल्यान्डलाई २-१ ले पछि पार्दै सुरू गरेको युरो कपमा नर्वेले त्यसपछि फिनल्यान्डलाई २-१ र आइसल्याण्डलाई ४-३ ले पराजित गर्दै तीनवटै खेल जितेको थियो ।

कप्तान हेगेरबर्गले टिममा सकारात्मक ऊर्जा रहेको र खेलमा सबैको समान योगदान रहेको बताइन् । उनले समूहको एकताको शक्तिमा अघि बढ्ने उल्लेख गरेकी छन्। 

इटालीले भने अहिलेसम्म युरोको उपाधि जित्न सकेको छैन। सन् १९९३ र १९९७ मा उपविजेता बनेको टिमले समूह 'बी' को उपविजेता बनेर क्वार्टरफाइनल यात्रा तय गरेको हो । 

उसले समूहमा बेल्जियमलाई १-० ले हराउँदै, पोर्चुगलसँग १-१ को बराबरी खेल्दै र विश्व च्याम्पियन स्पेनसँग ३-१ को हार ब्यहोरेर अन्तिम ८ मा पुगेको हो । इटाली प्रशिक्षक आन्द्रेआ सोनसिनले धेरै दर्शक खेल हेर्न आउँछन् भन्नेमा आशावादी रहेको बताए । 

उनले आफूमाथि ठूलो जिम्मेवारी रहेको बताउँदै फुटबलप्रतिको जोश र भावना बढाउने आशा व्यक्त गरेका छन् । नर्वे सन् २०२३ को विश्वकपमा आन्तरिक विवाद र कमजोर प्रदर्शनका कारण अन्तिम १६ बाटै बाहिरिएको थियो । तर सन् २०२४ को जनवरीदेखि जेम्मा ग्रेन्गरको प्रशिक्षणमा पुनः सशक्त रूपमा उदाएको छ । 

यो वर्ष स्विट्जरल्यान्डमा भइरहेको विश्वकपमा पनि नर्वे उपाधि जित्ने योजनामा छ। जारी युरोमा नर्वे समूह ए को विजेता समेत हो ।