काठमाडौं । एन्फा अन्डर सिक्सटिन लिगअन्तर्गत बुधवार भएको खेलमा चर्च बोइज युनाइटेडले सातदोबाटो युवा क्लबलाई ९-२ ले हराएको छ। सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च बोइज फराकिलो अन्तरले विजयी भएको हो ।
चर्च बोइजका लागि स्वप्निल दर्नाल र सुसन थापा मगरले ह्याट्रिक गरे । खेलको, आठौं मिनेटमा नै स्वप्निलले खेलमा अग्रता बनाए । सुसनले १६ औं मिनेटमा अग्रता दोब्बर बनाए । त्यसपछि यी दुई खेलाडीले रवाफिलो प्रदर्शन गर्दै सातदोबाटोको डिफेन्स र गोलकिपरलाई व्यस्त राखे ।
खेलमा साजन तामाङ र पारस आइदीले एक-एक गोल गरे। सातदोबाटोका लागि युवराज भट्टराई र बलमेन्द्र कुमार कुशवाहले गोल फर्काएका थिए। यो जितसँगै चर्च बोइजले पाँच खेलबाट ६ अंक बनाएको छ।
पराजित सातदोबाटो अंकविहीन छ। दिनको दोस्रो खेलमा हिमालयन शेर्पा क्लबले फ्रेन्ड्स क्लब कुपन्डोलसँग गोलरहित बराबरी खेलको छ ।
बराबरीपछि फ्रेन्ड्सको नौ र हिमालयनको सात अंक भएको छ। तेस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलका छन् । पुलिसले यो बराबरीसँगै आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
मनाङको ५ खेलमा ११ अंक छ भने पुलिस १३ अंकका साथ शीर्ष स्थानमा छ ।