सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ग्रीष्मकालीन ओलम्पिकअन्तर्गतका प्रतियोगिता जुलाई १२ देखि सुरु हुने भएका छन् । क्रिकेटको पदकका लागि जुलाई २० र २९ मा प्रतिस्पर्धा हुनेछ । १ सय २८ वर्षपछि ओलम्पिकमा क्रिकेटलाई पुन: सामेल गरिएको हो ।
प्रतियोगितामा पुरुष र महिला दुवै विधामा समान ६-६ टिमले सहभागिता जनाउनेछन् । हरेक टिमले १५ सदस्यीय टोली घोषणा गर्न पाउनेछ । प्रतियोगिता ट्वान्टी-२० ढाँचामा हुनेछ । कुल १ सय ८० खेलाडी ओलम्पिक क्रिकेटमा प्रतिस्पर्धा गर्नेछन् ।
सबै खेलहरू लस एन्जलसबाट झण्डै ५० किलोमिटर टाढा पर्ने पोमोना सहरको फेयर ग्राउन्ड्स स्टेडियममा खेलिने छन् । यो स्टेडियम ओलम्पिकका लागि विशेष रूपमा अस्थायी रूपमा निर्माण गरिनेछ ।
अधिकांश दिन डबल हेडर खेल आयोजना हुँदा जुलाई १४ र २१ तारिखमा कुनै खेल हुने छैनन् । सन् १९०० पछि पहिलोपटक क्रिकेट ओलम्पिकमा समावेश गरिएको हो । त्यतिबेला ग्रेट ब्रिटेन र फ्रान्सबीच दुई दिने खेल खेलिएको थियो जसमा ब्रिटेनले स्वर्ण पदक जितेको थियो । क्रिकेट ओलम्पिकमा समावेश भएपछि यसको अन्तर्राष्ट्रिय प्रतिष्ठा थप बढ्ने अपेक्षा गरिएको छ ।