एन्फा अन्डर-१६ युथ लिगमा सङ्कटा र मच्छिन्द्र क्लबको जित

असार ३१, २०८२ |खेल ब्युरो
एन्फा अन्डर-१६ युथ लिगमा सङ्कटा र मच्छिन्द्र क्लबको जित

काठमाडौं । एन्फा अन्डर-१६ युथ लिगअन्तर्गत मङ्गलबार सङ्कटा क्लब र मच्छिन्द्र क्लबले जित हात पार्दा जावलाखेल युवा क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मच्छिन्द्रले श्री भगवती क्लब टोखाविरुद्ध ६-० गोल अन्तरको फराकिलो जित हात पार्‍यो । जितसँगै मच्छिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ । मच्छिन्द्रको जितमा राहुल योञ्जनले ह्याटिक पूरा गरे ।

खेलको २० औं मिनेटमा राहुलको गोलमार्फत् मच्छिन्द्रले सुरुवाती अग्रता बनाएको थियो । २५औं मिनेटमा विकास थापाले गोल गरेपछि मच्छिन्द्रले अग्रता दोब्बर बनायो । पहिलो हाफको ईन्जुरी समयमा राहुलले व्यक्ति दोस्रो गोल थपे । ८०औं मिनेटमा विकासले पनि ब्रेस पूरा गर्दा मच्छिन्द्रले ४-० को अग्रता बनाएको थियो । ९०औ मिनेटमा करन धामीले टिमका लागि पाँचौं गोल थपे ।

इन्जुरी समयको पहिलो मिनेटमा राहुलले ह्याट्रिक पूरा गरेपछि मच्छिन्द्रले ६-० को फराकिलो जित हात पार्‍यो ।

जितसँगै मच्छिन्द्र पाँच खेलमा १३ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लियो । एक खेल कम खेलेको नेपाल पुलिस क्लब १२ अंङ्कसहितत दोस्रो स्थानमा झरेको छ । श्री भगवतीको यो लगातार तेस्रो हार हो । पाँच खेलमा मात्र तीन अङ्क जोडेको श्री भगवती नवौं स्थानमा छ ।

मङ्गलबार भएको दिनको पहिलो खेलमा सङ्कटा क्लबले विभागीय टोली एपीएफ क्लबलाई ६-१ पराजित गर्‍यो । सङ्कटाको जितमा प्रज्वलकुमार लुम्लेले दुई गोल गरे । दिनको अन्तिम खेलमा जावलाखेल र एनआरटीले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।