काठमाडौं । चीनको युनान प्रादेशिक खेलकुद ब्यूरोले राष्ट्रिय खेलकुद परिषद्लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण सहयोग गरेको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मङ्गलबार आयोजित कार्यक्रममा चिनियाँ दूतावासका डेपुटी चिफ दी मिसन वाङ झिनले राखेपका सदस्य-सचिव टंकलाल घिसिङलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।
चिनियाँ पक्षले ८५ लाख रुपैयाँ बराबरका भलिबल, बास्केटबल, टेबलटेनिस, एथलेटिक्सलगायत विभिन्न खेलका ३४ प्रकारका सामग्री हस्तान्तरण गरेको छ । कार्यक्रममा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले चीनले उपलब्ध गराएका सामग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सदस्य-सचिव टंकलाल घिसिङले हरेक वर्ष सहयोगले निरन्तरता पाउने प्रतिबद्धता पाएको बताउनुभयो ।
उहाँले २० औं एसियाली खेलकुद आउन १३ महिना मात्र बाँकी रहेकाले अब दृढ संकल्पका साथ प्रशिक्षण अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । अबको दुई हप्ताको अवधिमा मिसन- २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीको शारीरिक र खेलगत अवस्थाको परीक्षण गरिने जानकारीसमेत उहाँले दिनुभयो ।
चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङले सानो सहयोग भए पनि नेपाली खेलकुदको विकासमा सहयोग पुग्ने अपेक्षा गर्नुभयो।