सप्तरी । सप्तरीको राजविराजमा जारी सातौँ संस्करणको सप्तरी प्राइड लिगको सेमिफाइनल समीकरण पूरा भएको छ ।
कञ्चनरूप राइनोज समूह 'ए' को उपविजेता तथा खडक वारियर्स समूह 'बी' को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका छन् । यस अघि समूह 'ए' को विजेताको रूपमा राजविराज राजदेवी रोयल तथा समूह 'बी' को विजेताको रूपमा तिरहुत टाइगर्स सेमिफाइनल प्रवेश गरिसकेका थिए ।
पबी स्कुलको मैदानमा सम्पन्न मङ्गलबारको पहिलो खेलमा हनुमाननगर हिरोजलाई ४ विकेटले पराजित गर्दै कञ्चनपुर सेमिफाइनलमा प्रवेश गरेको हो ।
टस जितेर ब्याटिङ गरेको हनुमाननगरले १० ओभर ३ बलमा सबै विकेट गुमाएर सैतीस रन मात्र बनाउन सक्यो । उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । राइनोजका लागि शम्भु मण्डल र अभिमन्यु सरदार समान ४-४ विकेट लिए ।
जवाफमा राइनोजले ३८ रनको सामान्य लक्ष्य ८ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । कञ्चनपुरका लागि महानन्द यादवले सर्वाधिक १४ रन योगदान दिए । हिरोजको बलिङमा सञ्जन बैठाले सर्वाधिक ३ विकेट लिए ।
दोस्रो खेलमा खडक वारियर्सले रोयल च्यालेन्जर्स बाह्री वीरपुरलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो । १ सय २२ रनको लक्ष्य वारियर्सले मात्र २ विकेट गुमाएर १६ ओभरमा पूरा गरेको थियो ।
वारियर्सको जितमा सन्तोष कार्कीले अविजित अर्धशतकीय योगदान दिए । यस क्रममा उनले ४० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन बनाएका थिए ।
प्रतियोगिता बुधबार दुवै सेमिफाइनल खेल हुने छन् । पहिलो सेमिफाइनलमा राजविराजले खडक वारियर्ससँग प्रतिस्पर्धा गर्दा दोस्रो सेमिफाइनल खेलमा तिरहुतले राइनोजको सामना गर्ने छ । फाइनल खेल विहीबार खेलिने छ ।