तुइन चुँडिँदा महाकालीमा खसेर बेपत्ता भए बुढाथोकी

असार ३१, २०८२ |मनोज बडू
तुइन चुँडिँदा महाकालीमा खसेर बेपत्ता भए बुढाथोकी

दार्चुला । तुइनबाट खसेर दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुने स्थानीय २८ वर्षीय नारायण बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रकाश दाहालका अनुसार आज मध्याह्न १२ बजे बुढाथोकी दुम्लिङबाट महाकालीपारि भारतीय बजारतर्फ जाने क्रममा तुइन चुँडिएर नदीमा खसेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजीमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् । दुम्लिङभन्दा तल्लो क्षेत्रका सबै प्रहरी युनिटलाई बेपत्ताको खोजिका लागि भनिएको प्रहरीले जनाएको छ ।

२०७२ साल असोज २५ गते केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र मुलुकभरका तुइन विस्थापित गर्ने घोषणा गर्नुभएको थियो । यो घोषणाको १० वर्ष पुग्नै लाग्दा अहिले पनि प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले नै मुलुक हाँकिरहनुभएको छ । तर सरकारले २०८२/०८३ को नीति तथा कार्यक्रममा समेत फेरि उही कुरा दोहोरिएको छ । 

अर्थात् आगामी आर्थिक वर्षभित्र सबै तुइनलाई झोलुङ्गे पुलले विस्थापन गर्ने लक्ष्य छ । दार्चुलामा मात्रै अझै महाकाली नदी वारपार गर्न कम्तीमा ६ ठाउँमा तुइनकै भर छ । तीन वर्षअघि दार्चुलाका जयसिंह धामीले महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन चुँडाइदिएपछि नदीमा खसेर बेपत्ता भएको घटना सार्वजनिक भयो । परिवारजनले कुशको शव बनाई दाहसंस्कार गर्दा हाम्रो कमजोर कूटनीतिक क्षमताका कारण भारतीय पक्ष घटनाको जिम्मेवारी लिनबाट समेत पन्छियो । त्यसको अघिल्लो वर्ष व्यास गाउँपालिका ४ का १० वर्षीय बालक दीपेन्द्र विष्ट तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता हुनुभएको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्कअनुसार ६४ वर्षयता ६४ जना व्यक्ति तुइन तर्ने क्रममा महाकालीमा खसेर बेपत्ता भएका छन् । तीमध्ये तीन जनाको मात्रै शव भेटिएको छ ।

नेतृत्वको लोकप्रिय बन्ने चाहना तर कमजोर कार्यक्षमताका कारण जयसिंह र नारायणजस्ता निर्दोष नागरिकले तुइन तर्दा ज्यान गुमाउनुपर्ने दुखद् घटनाहरू दोहोरिइरहने देखिन्छ ।


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।