काठमाडौं । फिफा क्लब विश्वकपको उपाधिका आज फ्रेन्च टोली पेरिस सेन्ट-जर्मेन पीएसजी र इंग्लिस क्लब चेल्सी प्रतिस्पर्धा गर्दै छन् । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुने छ । विश्व फुटबलको इतिहासमै पहिलो पटक ३२ टोलीसहित एक महिनासम्म अमेरिकी भूमिमा चलेको प्रतियोगिता गर्मी, दर्शकको न्यून उपस्थिति र खेल तालिकाका कारण विवादित बने पनि शीर्ष दुई क्लबबीचको फाइनलले उत्साह थपेको छ ।
लुइस एनरिकेको नेतृत्वमा रहेको पीएसजी यस सिजनमा अपराजित जस्तै छ । लिग वान, फ्रेन्च कप र युएफा च्याम्पियन्स लिग जितिसकेको क्लबले नकआउट चरणमा इन्टर मायामीलाई ४-०, एट्लेटिको मडि्रडलाई ४-०, बायर्न म्युनिखलाई २-० र सेमिफाइनलमा रियाल मड्रिडलाई ४-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । एक खेलमा ब्राजिलियन क्लब बोटाफोगोसँग १-० को हार बेहोरे पनि सो खेलमा डेम्बेले, फाबियन रुइज, जोआओ नेभेस र कप्तान मार्किन्होस अनुपस्थित थिए ।
पीएसजीको आक्रमणमा ओस्मान डेम्बेले मुख्य स्टार हुन् । उनले यस सिजन ५२ खेलमा ३५ गोल र १४ असिस्ट गरेका छन् । उनी हालसम्मको बलोन दो दौडमा सबै भन्दा अगाडि छन् । ख्वारात्स्खेलिया, डेजिरे डूए, भितरमा नेभेस-रुइज-भिटीन्हा, र डिफेन्समा हाकिमी तथा नुनो मेन्डेसको प्रदर्शन शानदार रहेको छ ।
चेल्सीले भने प्रतियोगिताको सुरुआतमा संघर्ष गरेको थियो । समूह चरणमा कठिनाइको सामना गरे पनि नकआउट चरणमा बेन्फिकामाथि अतिरिक्त समयमा ४-१ को जित निकालेको थियो । त्यसपछि पाल्मेइरस २-१ र फ्लुमिनेन्सलाई २-० ले हराउँदै फाइनलमा पुगेको हो । प्रशिक्षक एनजो मारेस्काको युवा टोलीले लिगको अन्तिम दिन च्याम्पियन्स लिगमा स्थान पक्का गर्दै युएफा कन्फरेन्स लिगको उपाधि पनि जितेको थियो ।
चेल्सीका लागि कोल पाल्मर अझै पनि सबैभन्दा भरोसायोग्य खेलाडी हुन् । तर नयाँ स्ट्राइकर जोआओ पेड्रोले सेमिफाइनलमा दुई गोल गर्दै आफ्नो आगमन शानदार बनाएका थिए । तर, मिडफिल्डका प्रमुख खेलाडी मोइसेस काइसिडो घाइते भएपछि चेल्सीको मध्यपंक्ति कमजोर देखिन्छ ।
तुलनात्मक रूपमा पीएसजी स्पष्ट रूपमा बलियो देखिन्छ । उसले तीन वटा ठूला युरोपेली क्लबहरूलाई क्लिनसिट राख्दै १० गोल गरेको छ । जबकि चेल्सी अझै निर्माणको चरणमा रहेको युवा टोली हो । तर फुटबल अनपेक्षित खेल हो । त्यसकारण चेल्सीलाई कमजोर आकलन गर्नु पीएसजीका लागी घातक हुन सक्छ ।