काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत एसिया तथा इस्ट एसिया-प्यासिफिक क्षेत्रीय छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमको प्रारम्भिक टोली सार्वजनिक गरेको छ । मोहम्मद आदिल आलम लामो समयपछि नेपाली टिमको बन्द प्रशिक्षणमा फर्किएका छन् ।
साढे २ वर्षअघि नेपाल टी-२० लिगबाट स्पट फिक्सिङको आरोप लागेका आलमलाई क्यानले अहिले बन्द प्रशिक्षणका लागि बोलाएको हो । गत वैशाखमा उनको प्रतिबन्ध फुकुवा भएपछि उनले राष्ट्रिय टिमबाट खेल्ने बाटो खुलेको थियो । क्यानद्वारा सार्वजनिक गरिएको सूचीमा कप्तान रोहित पौडेलसहित प्रशिक्षणका लागि ३२ खेलाडी बोलाइएको छ । बोलाइएका खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, कुशल मल्ल, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र गुलशन झा जस्ता अनुभवी खेलाडी रहेका छन् ।
साथै युवा खेलाडी अर्जुन घर्ती, युवराज खत्री, नन्दन यादव, शुभ कंसाकार लगायत पनि सूचीमा परेका छन् । मुख्य प्रशिक्षक स्टुअर्ट लको प्रशिक्षणमा अनिल साह, नन्दन यादव, रूपेश सिंह, भीम सार्की, रिजन ढकाल, किरण ठगुन्ना, लोकेश बम, प्रतीश जीसी, पवन सर्राफ, कमलसिंह ऐरी, शेर मल्ल, सन्दीप जोरा, शाहब आलम, विवेक यादव, सागर ढकाल, आकाश चन्द रहने छन् ।
नेपालले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा स्थान बनाउने लक्ष्यसहित यो बन्द प्रशिक्षण आरम्भ गर्न लागेको हो । छनोटअघि नेपाल टप एन्ड सिरिज खेल्न अस्ट्रेलिया जानेछ । ओमानमा आयोजना हुने छनोटका लागि खेल तालिका यसअघि नै सर्वजनिक भइसकको छ । नेपाल समूह २ मा जापान र कुवेतसँग छ ।