काठमाडौं । विश्व नम्बर १ यानिक सिनरले पहिलो पटक विम्बल्डनको उपाधि जितेका छन् । इटालियन सिनरले फाइनलमा चिर प्रतिद्वन्द्वी विश्व नम्बर २ कार्लोस आल्काराजलाई चार सेटमा पराजित गरेका हुन् ।
अल इङ्ल्यान्ड क्लबको सेन्टर कोर्टमा सिनर एक सेटले पछि परेको स्थितिबाट खेलमा फर्किएका थिए । दुई पटकका साबिक विजेता आल्काराजले पहिलो सेट ६-४ ले जितेका थिए । तर बाँकी सेटमा २३ वर्षीय सिनरले उत्कृष्ट पुनरागमन गरे । दोस्रो सेट उनले ६-४ ले जितेपछि खेल १-१ को बराबरीमा पुगेको थियो । तेस्रो सेट पनि ६-४ ले नै आफ्नो पक्षमा पार्दै सिनर जिततर्फ उन्मुख भएका थिए ।
चौथो सेटमा सिनरले २२ वर्षीय आल्काराजलाई ६-४ ले हराउँदै पहिलो पटक ग्रासकोर्टमा ग्रान्डस्लाम जित्न सफल भए । सिनर विम्बल्डन उपाधि जित्ने पहिलो इटालियन खेलाडी पनि हुन् । अल्काराज भने थ्री पीट जित्नबाट चुके । सिनरको यो पहिलो विम्बल्डन फाइनल थियो । फ्रेन्च ओपनको फाइनलमा बेहोरेको पाँच सेटको हारको बदला सिनरले पाँच सातापछि विम्बल्डनमा लिएका छन् ।
फ्रेन्च ओपनमा सिनर सुरुआती दुई सेट जिते पनि जोगाउन असफल हुँदा आल्काराजले पाँच घन्टा २९ मिनेटमा जित हात पारेका थिए । शान्त छवि बनाएका सिनरले यो पटक भने गल्ती गरेनन् । सिनरको करिअरको यो चौथो ग्रान्डस्लाम उपाधि हो । यसअघि उनले अस्ट्रेलियन ओपन दुई पटक र एक पटक युएस ओपन जितेका थिए । सिनर यसै वर्ष तीन महिनाको डोपिङ प्रतिबन्धमा परेका थिए ।
सिनरले, आल्काराजविरुद्ध लगातार पाँच खेलदेखिको हारको शृङ्खलामा पनि ब्रेक लगाएका छन् । यस्तै आल्काराजको विम्बल्डनमा २२ खेलयताको अपराजित यात्रामा पनि पूर्णविराम लाग्यो । रोजर फेडेरर, रफायल नाडाल र नोभाक जोकोभिचपछि अब अल्काराज र सिनरलाई टेनिसको नयाँ प्रतिस्पर्धीका रुपमा हेरिएको छ । यी दुईले पछिल्ला सात ग्रान्डस्लाम एक-आपसमा बाँडेका छन् ।