एजेन्सी । नयाँ फरम्याटको पहिलो फिफा क्लब विश्वकपको उपाधी चेल्सिले जितेको छ । फाइनलमा इङलिस प्रिमियर लिग क्लब चेल्सिले, युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन पिएसजीलाइ तीन शुन्य गोलले पराजित गरेको हो ।
चेल्सिको सहज जीतमा कोल पाल्मरले शानदार प्रदर्शन गरे । मेटलाइफ स्टेडियममा ८१ हजार बढी समर्थक बीच गएराती भएको खेलको २२ औं मिनेटमा चेल्सिले अग्रता लिएको थियो ।
अट्याक्ङि मिडफिल्डर पाल्मरले, मालो गुस्टोको सहयोगमा गोल गरेपछि चेल्सि एक शुन्यले अघि रहेको थियो । पिएसजीका फुलब्याक नुनो मेन्डिसलेनै गुस्टोका लागि अवसर दिएका थिए ।
राम्रो संग सम्हालिन नपाउदै फ्रेन्च क्लब पिएसजीले अर्को गोल खान पुग्यो । ३० औं मिनेटमा पाल्मरले पुन गोल गरेपछि चेल्सिले अग्रता दोब्बर बनायो । पाल्मरले ५२ खेलमा १८ गोल र १४ एसिस्ट गर्दै सिजनको उत्कृष्ट अन्त्य गरेका छन् ।
४३ औं मिनेटमा जोवाओ पेड्रोले गोल गरेपछि भने फाइनल एक पक्षिय बन्यो । दोस्रो हाफमा चेल्सिले थप गोल गरेन र पिएसजीका लागि निराशाजनक रह्यो ।
८५ औं मिनेटमा जोवाओ नेभेसले रातो कार्ड पाएपछि पिएसजी दश खेलाडीमा झरेको थियो । यो खेल सुरु हुनु अघि लुइस इनरिकेको टिम पिएसजी उपाधीको लागि फभेरेट मानिएको थियो ।
चेल्सिले यो सिजन युरोपको तेस्रो ठुलो प्रतियोगिता युरोपा कन्फरेन्स लिग जित्दा पिएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधी जितेको थियो । पाएका केही राम्रा अवसरको सदुपयोग गर्न नसक्दा पिएसजी लगातार उपाधी जित्न बाट चुक्यो ।
चेल्सिले यसअघि २०२१ मा पनि क्लब विश्वकप जितेको थियो । फाइनलमा अमेरिकाका राष्ट्रपति डनल्ड ट्रम्पको पनि उपस्थिती रहेको थियो । चेल्सि प्रतियोगिताको सर्वाधिक गोलकर्ता टिम पनि हो ।
उसले कुल १७ गोल गर्दा म्यानचेस्टर सिटी र बायर्न म्युनिखले १६ गोल गरे । यो पटक तीन इङलिस खेलाडी कोल पाल्मर, हेरी केन र फिल फोडनले क्लब विश्वकपमा गोल गरे ।