काठमाडौं । संयुक्त राष्ट्रसंघको प्यालेस्टिनी शरणार्थी सम्बन्धी एजेन्सी यूएनआरडब्लूका प्रमुख फिलिप लाजारिनीले गाजामा इजरायलले 'निर्दयी हत्या योजना' अगाडि बढाएको आरोप लगाउनुभएको छ ।
मे महिनादेखि हालसम्म ८ सयभन्दा बढी प्यालेस्टिनीहरू खाद्य सहायता खोज्दा मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। यसै सन्दर्भमा, गत हप्ता मध्य गाजाको देइर अल-बलाह सहरमा पोषण सामग्रीको पर्खाइमा रहेका १५ जना मारिएका थिए । जसमध्ये ९ बालबालिका र ४ महिला थिए ।
यसैबीच, इजरायलले दक्षिणी सहर रफाहमा 'मानवीय सहर' निर्माण गर्ने योजना अघि बढाइरहेको छ । उपग्रह तस्बिरहरूले रफाहमा व्यापक संरचना ध्वस्त पारिएको देखाएका छन् । जसलाई प्यालेस्टिनीहरूलाई जबरजस्ती सार्न गरिएको तयारी मानिएको छ।
इजरायली रक्षा मन्त्री इजरायल काट्जले यस क्षेत्रमा गाजाको २१ लाख जनसंख्यालाई स्थानान्तरण गर्ने योजना सार्वजनिक गर्नुभएको छ । बेलायती-इजरायली विश्लेषक ड्यानियल लेवीका अनुसार, सहायता वितरण केन्द्रहरूलाई रणनीतिक रूपमा दक्षिणतर्फ स्थानान्तरण गरी प्यालेस्टिनीहरूलाई त्यहीँ खुम्च्याउने प्रयास भइरहेको छ ।
लेवीले यसलाई 'दोस्रो नक्बा' अर्था्त प्यालेस्टिनीहरूको जबरजस्ती विस्थापनको रूपमा हेर्नुपर्ने बताउनुभएको छ ।