सिन्धुपाल्चोक । मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा हेलम्बु गाउँपालिकाले सुरू गरेको पाेस्टनाटल केयर (पीएनसी) कार्यक्रमलाई संघीय सरकारले राष्ट्रिय तहमा विस्तार गर्ने निर्णय गरेको छ।
घर-घरमै पुग्ने स्वास्थ्य सेवा र समुदायको सहकार्यका कारण सफल बनेको यो अभ्यास अब संघीय नीति बन्ने भएको हो। सिन्धुपाल्चोक जिल्ला हालै बागमती प्रदेशको नवौं 'पूर्ण खोप सुनिश्चितता तथा दिगोपना' जिल्ला बनेको छ।
१६ महिनादेखि ५९ महिनासम्मका २ हजार २ सय ५० बालबालिकाले सबै अनिवार्य खोप प्राप्त गरेपछि यो उपलब्धि हासिल भएको हो। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले हेलम्बुको अभ्यासबाट संघीय स्तरको नीति बन्न सक्ने स्पष्ट उदाहरण प्रस्तुत भएको बताउनुभयाे ।
घरमै पुग्ने सुत्केरी सेवा
२०७७ सालदेखि सुरू गरिएको हेलम्बुको पीएनसी कार्यक्रमअन्तर्गत सुत्केरी आमालाई चार चरणमा सेवा दिइन्छ—
१. शिशु जन्मेको २४ घण्टाभित्र
२. ३ दिनभित्र (४८–७२ घण्टा)
३. ७–१४ दिनभित्र
४. ६ हप्ताभित्र (४२ दिन)
सेवामा आमाको स्वास्थ्य, स्तनपान, पोषण, मानसिक अवस्था तथा शिशुको तौल, संक्रमण जोखिम आदि मूल्याङ्कन गरिन्छ।
विशेष पहलस्वरूप पालिकाले पहिलो जाँचमा आमालाई ५ सय रूपैयाँ प्रोत्साहन दिने व्यवस्था समेत गरेको छ। पालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाकाअनुसार, पहिले जम्मा २० प्रतिशत रहेको फालोअप दर अहिले ९८-१०० प्रतिशत पुगेको छ।
स्थानीय अभ्यास, संघीय नीति
संघीय सरकार मातहतको मातृ-शिशु स्वास्थ्य सुदृढीकरण रणनीतिमा हेलम्बुको अभ्यासलाई आधार बनाएर कार्यक्रम बनाइएको हो। यसले स्थानीय आवश्यकता र व्यवहारमा आधारित अभ्यास पनि राष्ट्रिय नीति बन्न सक्छ भन्ने प्रमाणित गरेको छ।
सम्मान र अनुकरणीयता
चौतारामा आयोजित समारोहमा प्रदेश सांसद युवराज दुलाल, डब्लुएचओ नेपालका निर्देशक डा. राजेश पाण्डे, प्रमुख जिल्ला अधिकारी, विभिन्न पालिकाका प्रमुखलगायतको उपस्थिति थियो। स्वास्थ्यकर्मी, स्वयंसेविका र खोप अभियानमा योगदान गर्नेहरूलाई सम्मान गरिएको थियो।
सिन्धुपाल्चोक: नमुना जिल्ला
नेपालभर नौं जिल्लाले पूर्ण खोप सुनिश्चितता प्राप्त गरिसकेका छन्। तर, हेलम्बुको अभ्यास, नवप्रवर्तन र स्थानीय नेतृत्व देशभर अनुकरणीय बन्न पुगेको छ।