सप्तरी । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिगअन्तर्गत दोश्रो दिनको पहिलो खेलमा राजगढ वारियर्सले हनुमाननगर हिरोजलाई २३ रनले पराजित गरेको छ।
पवि स्कूल मैदानमा १३२ रनको लक्ष्य पछाएको हनुमाननगर हिरोजले १७.५ ओभरमा १०८ रनमा सबै विकेट गुमाउन पुग्यो। हनुमाननगरको लागि गोमनन्द अमात्य र एकलब्य मुखियाले समान २३ रन योगदान दिएता पनि जितको लागि पर्याप्त रहेन ।
राजगढ वारियर्सका बलर नयन यादव र रोशन यादवले समान ३ विकेट लिँदै जितमा अहम योगदान दिए। आनन्द मण्डलले २ तथा विकि पासवान र विष्णु मण्डलले १/१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको राजगढ वारियर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३१ रन बनाउँदै १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ। वारियर्सको लागि विष्णु मण्डलले सर्वाधिक ३९ रन बनाए।
जुन क्रममा उनले ३३ बलमा चार चौका र एक छक्का प्रहार गरे। यस्तै नयन यादवले ३१ बलमा चार चौका र एक छक्का मद्दतले ३६ रन बनाए । मोहम्मद असरलले २२ रन योगदान दिए। हनुमान नगरको बलिङमा सिवान यादवले दुई विकेट तथा उज्ज्वल झा र सन्जन बैठाले समान एक विकेट लिए ।
अलराउण्ड प्रदर्शन गरेका नयन यादव प्लेयर अफ म्याच घोषित भए।