काठमाडौं । एन्फा अन्डर सिक्सिटिन लिगअन्तर्गत शुक्रबार भएको खेलमा चर्च बोइज युथ क्लबले प्लानिङ बोइज युनाइटेडलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ। शुक्रबार नै भएका अन्य खेलमा फ्रेन्ड्स क्लब युनाइटेड र एपीएफ क्लबले जित निकालेका छन् ।
सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्सले संकटा क्लबलाई ३-१ ले हराएको हो । फ्रेन्ड्सका लागि खेलको २०औं मिनेटमा नै मन्दीप ढुंगेलले जित दर्ता गरेका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको फ्रेन्ड्सका लागि दोस्रो हाफमा पर्वत बिसीले अग्रता दोब्बर पारेका थिए ।
यता ७०औं मिनेटमा संकटाका लागि पेमा तामाङले गोल फर्काएपछि खेल २-१ को अवस्थामा पुगेको थियो। तर ७७ मिनेटमा मन्दीपले व्यत्तिगत दोस्रो गोल गरेर फ्रेन्ड्सको पक्षमा ३-१ को जित हात पारेका हुन् ।
यता चर्च बोइजलाई नौ-शून्यको जित दिलाउन सुशान्त थापा मगरले ह्याट्रिकसहित पाँच गोल गरेका थिए । खेलको पहिलो मिनेटमै गोल गरेका सुशान्तले पहिलो हाफमा दुई गोल गरे।
स्वप्निल दर्नालले पनि दुई गोल थपेपछि दोस्रो हाफअघि प्लानिङ चार गोलले पछि थियो । दोस्रो हाफमा सेलभम केसीले आत्मघाति गोल गरे भने स्वप्निलले ६४ औं मिनेटमा ह्याट्रिक पूरा गरे । सुशनले अन्तिम समयमा तीन गोल गरेर चर्च बोइजलाई प्रतियोगिताकै सबैभन्दा फराकिलो जित दिलाएका हुन् ।
शुक्रबार नै भएको अर्को खेलमा एपीएफले पुलिस क्लबलाई ३-१ ले हराएको छ ।