जोकोभिच विम्बलडनकाे क्वार्टरफाइनलमा प्रवेश

असार २४, २०८२ |खेल ब्युरो
जोकोभिच विम्बलडनकाे क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच विम्बलडन ग्रान्ड स्ल्याम टेनिस २०२५ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

अस्ट्रेलियाका ११औं वरियता प्राप्त एलेक्स डि मिनौरमाथि संघर्षपूर्ण जित दर्ता गर्दै जोकोभिच अन्तिम ८ मा प्रवेश गरेका हुन् । तीन घन्टा १८ मिनेटसम्म चलेको खेलमा जोकोभिचले १-६, ६-४, ६-४ र ६-४ को जित हात पारे । 

सात पटकका च्याम्पियन जोकोभिचका लागि यो खेल सामान्य थिएन । पहिलो सेटमा निकै कमजोर प्रदर्शन गरेका उनले तीनपटक सर्भ गुमाएका थिए । डबल फाल्टले उनलाई थप दबाबमा राखेको थियो । यसको फाइदा उठाउँदै डि मिनौरले ३० मिनेटमै पहिलो सेट आफ्नो पक्षमा पारेका थिए ।

तर, अनुभवी जोकोभिचले दोस्रो सेटदेखि आफूलाई सम्हाले । उनले दोस्रो सेटको सुरूआतमै ब्रेक गर्दै लयमा फिर्ता ल्याउने संकेत दिएका थिए । यद्यपि दोस्रो सेटमा पनि उतारचढाव देखिएको थियो । उनले महत्त्वपूर्ण क्षणमा दबाब झेलेर सेट जित्न सफल भए ।

तेस्रो सेटमा पनि प्रतिस्पर्धा निकै कडा रहृयो । डि मिनौरको लगातारको आक्रमणका बाबजुद जोकोभिचले निर्णायक नवौं गेममा ब्रेक गर्दै सेट आफ्नो पोल्टामा पारे । चौथो सेटमा फेरि एकपटक डि मिनौरले अग्रता लिएका थिए । 

उनी ४-१ ले अगाडि पुगेका थिए । तर त्यसपछि जोकोभिचले पाँच गेम लगातार जित्दै सानदार पुनरागमन गरे । यो जितसँगै ३८ वर्षिय जोकोभिच विम्बलडनको इतिहासमा १६ औं पटक क्वार्टरफाइनल पुगेका छन् । 

जुन ओपन एरामा रोजर फेडेररपछि दोस्रो उच्च कीर्तिमान हो । यससँगै जोकोभिच फेडेररको ८ विम्बलडन उपाधि बराबरी गर्न ३ जित टाडा छन् ।

अब क्वार्टरफाइनलमा उनले इटालीका २२औं वरियताका फ्लाभियो कोबोल्लीको सामना गर्नेछन् । सम्भावित सेमिफाइनल भिडन्त भने शीर्ष वरियताका यानिक सिन्नरसँग हुँन सक्छ । 

विम्बलडनको पछिल्ला ४५ मध्ये ४३ खेल जितेका जोकोभिच अहिले ग्रान्ड स्लामको २५औं उपाधि तर्फ पनि अगाडि बढिरहेका छन् ।