न्यु डायमन्ड क्लबले निर्माण गर्‍यो होस्टल र जिम हलसहितको खेल पूर्वाधार

असार १९, २०८२ |प्रदीप लेखी
न्यु डायमन्ड क्लबले निर्माण गर्‍यो होस्टल र जिम हलसहितको खेल पूर्वाधार

काठमाडौं । नेपाली महिला भलिबलमा पहिलो पटक निजी क्षेत्रले पूर्ण खेल पूर्वाधार निर्माण गरेको छ । न्यु डायमन्ड क्लबले होस्टल, जिम हलसहित प्रशिक्षण र अभ्यास एकै स्थानमा गर्ने गरी पूर्वाधार निर्माण गरेको हो । यसअघि नेपालमा विभागीय क्लबहरू नेपाल पुलिस, एपीएफ र त्रिभुवन आर्मीसँग मात्र यस्ता पूर्वाधार थिए । दाताहरूको सहयोगमा आफ्नै पूर्वाधार निर्माण गरिएपछि खेलाडी पनि दंग छन् ।

२०६४ सालमा न्यु डायमन्डले सुरु गरेको महिला भलिबलको यात्राले छोटो समयमै उचाइ प्राप्त गरेको छ । सुरुमा एक-दुई अग्ला खेलाडीमा निर्भर भए पनि आफूभन्दा बलिया टिमलाई हराएर उपाधि जितेपछि महिला भलिबलमा सबैको आकर्षणको केन्द्र बन्यो क्लब । निरन्तर मिहिनेतको फलस्वरूप क्लबमा खेल पूर्वाधारका साथै होस्टेलसहितको संरचना निर्माण भएको छ, जुन नेपाली भलिबलमा नमुना समेत बनेको छ ।

शिक्षकको रूपमा बोर्डिङ स्कुलमा अध्यापन गराउँदै आए पनि कुमार राई सोच्थे- विद्यार्थी शारीरिक रूपमा तन्दुरुस्त नभएसम्म मानसिक रूपमा पनि तन्दुरुस्त हुन सक्दैनन् । सोही कारण उनले विद्यार्थीलाई सानैदेखि भलिबल सिकाउँथे । त्यही सानो भलिबल टिमबाट नेपाली महिला राष्ट्रिय भलिबल टिमका हस्तीहरू रमिला तण्डुकार, रेश्मा भण्डारी, प्रतिभा माली, प्रगति नाथ, सलिना श्रेष्ठ र सुमित्रा रेग्मी जस्ता प्रतिभावान खेलाडी जन्माउन सफल भए ।

प्रशिक्षक राई मुलुकका दुर्गम भेगबाट खेलाडी खोजेर ल्याउँछन्, पढ्ने तथा खाने बस्ने व्यवस्था गरिदिन्छन् र भलिबल सिकाउँछन् । अहिले होस्टेलमा ४० जना खेलाडी बसिरहेका छन् । कतिले बाहिर बसेर पनि प्रशिक्षण लिइरहेका छन् । अहिले साना-ठूला गरी ६० खेलाडी क्लबमा आबद्ध छन् । निकै दुःख गरेर बनाएको आफ्नै संरचनामा खेल्न र बस्न पाउँदा पदाधिकारी र खेलाडी दुवै खुशी छन् ।

न्यु डायमन्ड क्लबको संरचना निर्माणका लागि अमेरिका, अ‍स्ट्रेलिया, हङकङ, जापान, खाडी मुलक तथा नेपालमा रहेका भलिबलप्रेमीले सहयोग गरेका छन् । होस्टलसहितको निर्माणले क्लबलाई केही आर्थिक भार पनि कम भएको छ । बिस्तारै छानोसहितको कभर्ड हल बनाउने योजनामा क्लब रहेको छ ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।