काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा नेपाल र उज्वेकिस्तानबीच हुने समूहको अन्तिम खेल रोमान्चक हुने भएको छ ।
नेपालले समूहका दुई खेलमा, लाओसलाई नौ शून्य र श्रीलङकालाई ८-शून्य गोलले पराजित गरेको छ । यस्तै घरेलु टिम उज्वेकिस्तानले समूहको आफ्नो देास्रो खेलमा हिजो लाओसमाथि सात-शून्य गोलको जीत हात पार्यो । पहिलो खेलमा श्रीलङकालाई १०-शून्य गोलले हराएको थियो । नेपाल र उज्वेकिस्तानको दुई खेलबाट समान ६ अंक भएको छ । साथै गोल अन्तर पनि समान नै भएकाले शनिबार हुने खेल दुवैका लागि महत्वपूर्ण छ । जीत हात पार्ने टिम अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपका लागि छनोट हुनेछ । नेपाल र उज्वेकिस्तान दुवै टिम क्लिन सिट राख्न सफल भएका छन् । यी दुई बीचको खेल बराबरीमा सकिए कार्डका आधारमा विजेता चुनिनेछ । नेपाल र उज्वेकिस्तान दुवैले समुहका दुई खेलमा कुल १७ गोल गरेका छन् ।
यसैबीच बंगलादेश पहिलो पटक एसियन कपका लागि छनोट भएको छ । दक्षिण एसियाली राष्ट्र बंगलादेशले महिला फुटवलमा प्राप्त गरेको यो ऐतिहसिक सफलता हो । बंगलादेशले हिजो भएको खेलमा बलियो म्यानमारलाई दुई-एक गोलले स्तब्ध पारेको थियो । तुर्कमेनिस्तान र बहराइनबीचको खेल दुइ-दुइ गोलको बराबरीमा सकिएपछि बंगलादेशको फाइनल चरणमा स्थान पक्का भएको हो । यसअघि बंगलादेशको पुरुष टिमले एक पटक सन १९८० मा एसिया कप खेलेको थियो ।