जनकपुर । रसिलो आँपका लागि प्रख्यात मधेश प्रदेशको राजधानी धनुषामा आयोजित दुई दिने आँप मेलामा सर्वसाधारणको आकर्षण देखियो ।
आँपको प्रवर्द्धन, बजारीकरण र पर्यटन क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले आँप मेला गरिएको हो । मधेशका आठै जिल्लाको पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा आँपको व्यवसायिक खेती हुँदै आएको छ। आँप उत्पादनमा सिरहा सबैभन्दा अगाडि छ ।
यो कुनै चाडपर्वको मेला होइन, धनुषाको बटेश्वर गाउँपालिका चित्रपुरका स्थानीयले आँपको प्रवर्द्धन, बजारीकरण तथा आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने उद्धेश्यले आँप बगैंचामै लगाएको आँप मेला हो ।
स्थानीय स्तरमा उत्पादन हुने आँपलाई राष्ट्रिय पहिचान दिलाउन तथा नयाँ पुस्तालाई आँपका विविध जातबारे जानकारी दिन चित्रपुरमा दोस्रो पटक मेला आयोजना गरिएको हो ।
मेलामा स्थानीय किसानले फलाएको बमोई, कलकतिया, मालदह, आम्रपाली, कृष्णभोग, जर्दा लगायत विभिन्न जातका आँप र यसबाट उत्पादित अचार, अमोट, आमिल, जुसलगायतका परिकार प्रदर्शनी गरिएका थिए । बगैंचामा घुमाउने, रूखबाटै आँप छानेर टिप्ने अनुभव दिलाउने र नयाँ पुस्तालाई विभिन्न जातका आँप चिनाउने जस्ता कार्यप्रति सर्वसाधारणले निकै रूचि देखाए ।
मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि २० किलोमिटर उत्तर र पूर्वपश्चिम राजमार्गदेखि ४ किलोमिटर दक्षिणमा रहेको चित्रपुर क्षेत्रमा हाल ३ सय बिघा भन्दा बढी जग्गामा फैलिएको बगैंचामा ४० भन्दा बढी जातका आँप उत्पादन हुँदै आएको छ ।
२० हजार भन्दा बढीले मेला अबलोकन गरेका छन् भने १० लाख भन्दा बढीको कारोबार भएको आयोजकको दाबी छ । मेला प्रभावकारी रहेको भन्दै किसानहरू निकै उत्साहित देखिएका छन् ।
अन्नको भण्डारसँगै देशमै सबैभन्दा बढी आँप उत्पादन हुने गरेकाले मधेश प्रदेशलाई आँपको राजधानी पनि भन्ने गरिन्छ । फलफूलको राजा भनेर चिनिँदै आएको आँपको यहाँ व्यवसायिक तथा परम्परागत तरिकाले खेती गरिन्छ ।
भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कअनुसार देशभर ४२ हजार ७ सय ७३ हेक्टर मध्ये मधेश प्रदेशमा मात्रै २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको छ ।
सबै भन्दा बढी सिरहामा १ लाख ४ हजार ६ सय ७६ र सबै भन्दा कम पर्सामा ४ हजार ७ सय ३१ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ । कुल उत्पादनको ७७ दशमलव एक प्रतिशत आाप मधेशमा फल्ने गर्छ ।