भियतनामसँग नयाँ व्यापार सम्झौतामा सहमति भएको ट्रम्पको घोषणा

भियतनामले अमेरिकाबाट आयात हुने वस्तुमा कुनै कर लगाउने
असार १९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भियतनामसँग नयाँ व्यापार सम्झौतामा सहमति भएको ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अमेरिका र भियतनामबीच नयाँ व्यापार सम्झौतामा सहमति भएको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोष्ट गर्दै ट्रम्पले यसलाई ग्रेट डिल अफ कोअपरेशन अर्थात् सहयोगको महान सम्झौता भन्नुभएको छ।

सम्झौताअनुसार अमेरिकाले भियतनामबाट आयात हुने वस्तुमा २० प्रतिशत आयात कर लगाउनेछ । यसअघि ट्रम्पले अप्रिलमा घोषणा गरेको जवाफी आयात करअन्तर्गत अमेरिकाले भियतनामबाट आयात हुने वस्तुमा ४६ प्रतिशत आयात कर लगाउने तयारी गरेको थियो । 

यद्यपि, ट्रम्पले उक्त व्यवस्था ९० दिन अर्थात् यही जुलाई ९ सम्मका लागि स्थगित गर्नुभएको थियो । सम्झौताअनुसार भियतनामले भने अमेरिकाबाट आयात हुने वस्तुमा कुनै कर लगाउने छैन् । 

ट्रान्स सिपिङ प्रक्रिया अर्थात् भियतनाम हुँदै अमेरिका पठाइने तेस्रो देशका वस्तुमा भने अमेरिकाले ४० प्रतिशत आयात कर लगाउने छ । व्यापार तथा उत्पादनसम्बन्धी ट्रम्पका वरिष्ठ सल्लाहकार पीटर नाभारोले अमेरिका निर्यात गरिने वस्तुमध्ये एक तिहाई वस्तु वास्तवमा चिनियाँ उत्पादन हुने गरेको र तिनीहरूलाई भियतनाम ल्याएर पुन: अमेरिका निर्यात गरिने गरिएको बताउनुभएको छ ।

नाइक, एप्पल, ग्याप, लुलुलेमन जस्ता प्रमुख ब्राण्डहरूका लागि भियतनाम मुख्य उत्पादन केन्द्रका रूपमा रहेको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा चीनमा उत्पादन हुने वस्तुमा उच्च आयात कर लगाएपछि करबाट जोगिन थुप्रै कम्पनीले आफ्नो उत्पादन केन्द्रहरू भियतनाममा सारेका थिए ।

अर्कोतर्फ यसबीचमा ट्रम्प परिवारले भियतनाममा अबौं डलर लगानीका विकास योजनाहरू घोषणा गरेको छ । भियतनाम सरकारले ट्रम्प अर्गनाइजेसनलाई एक स्थानीय व्यवसायीक संस्थासँग मिलेर होटेल, गल्फ कोर्स र घरजग्गा कारोबारमा डेढ अर्ब डलर लगानीको योजनालाई स्वीकृति प्रदान गरेको हो । 

यसका अतिरिक्त ट्रम्प अर्गनाइजेसनले हो चि मिन्ह शहरमा ट्रम्प टावर निर्माणका लागि जग्गा खोजिरहेको जनाइएको छ । ट्रम्पले गत अप्रिलमा जवाफी कर भन्दै विश्वका ५० भन्दा बढी देशमाथि उच्च आयात करको घोषणा गर्नुभएको थियो । 

पछि उहाँले सो व्यवस्थालाई १० प्रतिशतमा सीमित गर्दै नयाँ सम्झौताका लागि ९० दिनको समय दिनुभएको थियो । यसबीचमा बेलायत र चीनले मात्रै अमेरिकासँग व्यापार सम्झौता गरेका छन् ।