काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका पोर्चुगिज फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको छ ।
दुर्घटना स्पेनको जमोरा प्रान्तमा बिहीबार स्थानीय समयअनुसार राति करिब साढे १२ बजे भएको थियो । दुर्घटनामा २८ वर्षीय पोर्चुगिज फरवार्डसहित उनका भाई आन्द्रे सिल्भाको निधन भएको छ । २६ वर्षीय आन्द्रे पोर्चुगलको दोस्रो श्रेणी क्लब पेनाफीएलबाट व्यावसायीक फुटबल खेल्थे ।
स्पेनिस प्रहरीकाअनुसार जोटा र उनका भाई सवार ल्याम्बोर्गिनी कारको टायर फाटेपछि सडकबाट बाहिरिएको थियो भने आगो समेत लागेको थियो । जोटाले २२ जुनमा आफ्नी प्रेमिका रूटे कार्डोसोसँग विवाह गरेका थिए । यो जोडीका तीन सन्तान समेत छन् ।
जोटा लिभरपुलका प्रमुख खेलाडी थिए । उनले गत सिजन लिभरपुललाई प्रिमियर लिग उपाधि दिलाउन महत्वपुर्ण भुमिका खेलेका थिए । साथै गत महिना पोर्चुगलबाट युएफा नेसन्स लिग सेमत जितेका थिए ।
पोर्चुगल फुटबल महासंघले दुई उत्कृष्ट खेलाडी गुमाएको भन्दै शोक व्यक्त गरेको छ । युरोपियन फुटबल महासंघ युएफाले महिला युरो कपअन्तर्गत आज राति खेलिने पोर्चुगल र स्पेनको खेल अघि एक मिनेट मौनधारण गर्ने बताएको छ ।