कर्णाली । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ ।
खार्पुनाथ गाउँपालिका-५ स्थित खार्पु भएर बग्ने चुवाखोला कर्णाली नदीमा बेलीब्रिज निर्माण भएसँगै सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन लागेको हो। सडक उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली असार २२ गते हुम्ला जाँदै हुनुहुन्छ।
झण्डै साढे ६ करोड रूपैयाँ लागतमा नेपाली सेनाले ४० दिन लगाएर यो बेलिब्रिज निर्माण गरेको हो । बेलिब्रिज निर्माणले हुम्ली नागरिकको राष्ट्रिय सडक सञ्जालसँग जोडिने सपना पूरा हुनै लागेको हो ।
चीनको स्वशासित क्षेत्र तिब्बतको हिल्सा नाकाबाट सिमकोटसम्म ९५ किलोमिटर मोटरबाटो बनिसकेको छ। दक्षिणतिरबाट सदरमुकाम सिमकोट जोड्न गरिएको झण्डै तीन दशकको प्रयास साकार हुनै लागेको हो।
५ सय ५ किलोमिटर लामो कर्णाली करिडोर अब सिधा सञ्चालनमा आउनेछ । जसले नेपालगञ्जदेखि कालीकोटको खुलालु, बाजुरा, खार्पु हुँदै सिमकोट र हिल्सासम्म सीधा आवतजावत हुनेछ ।