काठमाडौं । वीर गणेशमान सिंह १० किलोमिटर रोड रेसको उपाधि महिलातर्फ सन्तोषी श्रेष्ठले जितेकी छन् । पुरुषमा आर्मीका राजक रोकाय पहिलो भए ।
काठमाडौंमा आज भएको दौडमा रोकायले ३१ मिनेट २२ सेकेण्डको समयमा दुरी पुरा गरे । आर्मीकै खड्कबहादुर खड्का ३१ मिनेट ५५ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए । मुकेशबहादुर पालले ३२ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । बागलुङका तीर्थ पुन चौथो भए भने केन्याका जुलियस मुरीउकीले पाँचौँ स्थान प्राप्त गरे। यस्तै सन्तोषी ३८ मिनेट ३ सेकेण्डमा दौड पूरा गर्दै महिलातर्फ उपाधि जितिन्।
आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो भइन् । उनले ३९ मिनेट १९ सेकेण्डमा दौड पूरा गरेकी थिइन् । तेस्रो भएकी एपीएफका आशा रावतले ४० मिनेट २७ सेकेण्डको समय निकालिन् । एपीएफकै फूलमती राना चौथो भइन्। प्रतियोगितामा विभागीय टिम, संघसंस्था, विद्यालय-कलेज, विदेशी धावकसहित करिब ५५० खेलाडी सहभागी थिए । पुरुष तथा महिला दुवैतर्फ प्रथम स्थान प्राप्त गर्ने खेलाडीले नगद ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।