एजेन्सी । म्यानचेस्टर सिटीले क्लब विश्वकपको समूह जीमा बिहीबार युभेन्टसलाई ५(२ गोलअन्तरले पराजित गर्दै समूह विजेता बनेको छ। म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो करियरको ३ सयौं गोल गर्दै क्लब विश्वकपमा सिटीलाई शानदार जित दिलाएका हुन्। यो जितसँगै सिटी समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो।
खेलको १० मिनेटमै रयान आइट(नुरीको पासमा जेरेमी डोकुले युभेन्टसका डिफेन्डरलाई छलेर सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। तर ११ मिनेटमा नै गोलकिपर एडरसनको कमजोर पासलाई युभेन्टसका ट्युन कुप(मेनर्सले काउन्टरमा गोल गर्दै खेल बराबरीमा ल्याए। यता, युभेन्टसले पनि आत्मघाती गोल गरेपछि सिटी फेरि अगाडि बढ्न सफल भयो। फ्रान्सेली डिफेन्डर पिअर कालुलुले कुनै दबाब बिना नुनेसको क्रसमा आफ्नै पोष्टमा गोल गरेका थिए।
त्यसपछि हालान्ड, फिल फोडेन र साविन्होको गोलले सिटीको जित सुनिश्चित भएको हो। साविन्होले उत्कृष्ट गोल गर्दै खेलमा पाँचौं गोल थपे। हालान्ड दोस्रो हाफमा बेञ्चबाट मैदान प्रवेश गर्दै म्याथियस नुनेसको पासमा गोल गर्न सफल भए। यो उनको करियरको ३०० औं गोल थियो। युभेन्टसका लागि डुशान भ्लाहोविचले एक सान्त्वना गोल फर्काए । पेप ग्वार्डिओलाको टिमले समूह चरणका सबै तीन खेलमा जित हात पार्दै उत्साहजनक लयमा नकआउट चरणमा प्रवेश गरेको छ।
यता गएरातिको हारले इटालियन क्लब युभेन्टसको कमजोर रक्षात्मक खेलप्रति गम्भीर प्रश्नसमेत खडा गरेको छ। गएरातिको प्रतिस्पर्धा अघि नै यि दुवै टिमले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका थिए। तर गएरातिको खेलमा सिटी उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणका तीनै खेल जित्ने एकमात्र टिम बन्न सफल भयो। यो जितसँगै इंग्लिस टोलीले प्रतियोगिताको उपाधिका लागि सबैभन्दा बलियो दाबेदारको हैसियत बलियो बनाएका छन्।
पेप ग्वार्डिओलाको टोली ९ अंकसहित समूह जी को शीर्षमा रह्यो भने युभेन्टस ६ अंकका साथ दोस्रो स्थानमा सीमित रह्यो। युभेन्टस अब अन्तिम १६ मा समूह एच को विजेतासँग भिड्नेछ।