राहुल विश्वकर्मालमई सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि

असार ५, २०८२ |खेल ब्युरो
राहुल विश्वकर्मालमई सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि

काठमाडौं । एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

राष्ट्रिय खेलाडीसमेत रहेका राहुलले समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै च्याम्पियन बनेका हुन् ।

राहुलका लागि यो करियरकै पहिलो सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप तथा सिजनको दोस्रो उपाधि हो । यसअघि उनले सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए ।

बिहिबार राहुलले ५-अन्डर ६७ को स्कोर गरे । समग्रमा १९-अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए । उनले आज ८-अन्डर ६४ को स्कोर गरे । प्रोतर्फ पहिलो भएका उनले नगद ३ लाख प्राप्त गरे । एमेच्योर सदभाव आचार्य समग्रमा १८-अन्डर २ सय ७० को स्कोरमा तेस्रो भए । उनले आज ५-अन्डर ६७ को स्कोर बनाए । उनी एमेच्योरतर्फ दोस्रो भए ।

साबिक विजेता सुवाश तामाङ समग्रमा १५-अन्डर २ सय ७३ सहित चौथो भए । उनले आज इभन-पार ७२ स्कोर गरे । प्रो तर्फ उनी दोस्रो हुँदा नगद १ लाख ८५ हजार प्राप्त गरे ।

एनपीजीएद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको थियो । प्रतियोगितामा ३७ प्रो र १८ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागीता जनाएका थिए ।