एसीसी अन्डर-१६ इस्टर्न जोन कप खेल्न जाने नेपाली युवा क्रिकेट टोलीको बिदाइ

असार ६, २०८२ |खेल ब्युरो
एसीसी अन्डर-१६ इस्टर्न जोन कप खेल्न जाने नेपाली युवा क्रिकेट टोलीको बिदाइ

काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी अन्डर-१६ इस्टर्न जोन कप खेल्न जाने नेपाली युवा क्रिकेट टोलीको बिदाइ गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ, क्यान मुख्यालयमा आयोजित एक कार्यक्रमबीच टोलीको बिदाइ गरिएको हो ।

असार ६ गते देखि २१ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागी नेपाली टोली आजै मलेसियातर्फ प्रस्थान गरेको छ । बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले टिमको तयारी राम्रो भएको बताए । 

हालै सम्पन्न जिल्ला तथा राष्ट्रियस्तरका प्रतियोगिताका कारण टोली राम्रो लयमा रहेको उनको भनाइ थियो । नेपाल यस प्रतियोगितामा गत संस्करणको विजेता टोलीका रूपमा सहभागी हुँदैछ । 

सन् २०२३ मा नेपालले फाइनलमा आयोजक राष्ट्र मलेसियालाई पराजित गर्दै उपाधि जितेको थियो । नेपाल हालसम्म भएका तीन वटै संस्करणको च्याम्पियन समेत हो । नेपाली टोलीका कप्तान विपिन शर्माले पनि राम्रो तयारीका कारण टोली सन्तुलित रहेको बताए ।

प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन् । यी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल सम्मिलत समूह ‘ए’मा सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह 'बी' मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।

नेपालले आफ्नो पहिलो खेल असार ८ गते सिंगापुरविरूद्ध खेल्नेछ । दोस्रो खेल १० गते जापानविरुद्ध, तेस्रो खेल १५ गते इन्डोनेसियाविरूद्ध र चौथो खेल असार १७ गते भुटानविरूद्ध हुनेछ ।

दुवै समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल खेल असार १९ तथा फाइनल र तेस्रो स्थानका लागि २१ गते प्रतिस्पर्धा हुनेछ । मलेसियाका ३ भिन्दाभिन्दै मैदानमा खेल हुनेछन् ।