काठमाडौं । नेपालले त्रिकोणत्मक टी-ट्वेन्टी आई सिरिजको आफ्नो अन्तिम खेलमा शुक्रबार घरेलु टिम स्क्टलयान्डसँग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा जित हात पारे नेपाल सिरिज च्याम्पियन बन्नेछ ।
ग्लास्गोमा हुने खेल नेपाली समयअनुसार साँझ पौने आठ बजे सुरू हुनेछ । नेपाल तीन खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमा दुईमा हार र एकमा जित निकालेको स्कटल्यान्ट दुई अंकसहित तेस्रो स्थानमा छ ।
सिरिजका सबै चार खेलबाट ४ अंक बनाएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । नेपाल जितमा पनि ह्याट्रिक गर्ने लक्ष्यमा हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपालले स्कटल्यान्ड्सलाई ९७ रनमा अल आउट गरेको थियो ।
९८ रनको लक्ष्य नेपालले आठ विकेटको क्षतिमा पुरा गरेको थियो । हिजो नेदरल्यान्ड्सविरूद्ध १ सय ७५ रनको लक्ष्य चार विकेट गुमाएर पुरा गरेको नेपाल उच्च मनोवलमा छ ।
ओपनर कुशल भुर्तेल पनि फर्ममा फर्किएका छन् । टी-ट्वेन्टी आईमा डेब्यू गरेका भीम सार्की र ओडिआई ब्याटरका रूपमा परिचित आरिफ शेखको प्रदर्शन पनि उच्च रह्यो ।
स्कटल्यान्डको पनि उपाधि जित्ने सम्भावना रहेको हुँदा नेपाललाई हराउन चाहन्छ । साथै पहिलो खेलमा बेहोरेको हारको बदला लिने योजनामा पनि छ । टी-ट्वेन्टी विश्वकप छनोटको तयारीमा रहेको नेपाल सिरिजको उपाधि जित्दै स्कटल्यान्ड भ्रमण टुंग्याउन चाहन्छ ।