एएफसी महिला एसियन कपको छनोट चरणका लागि राष्ट्रिय महिला फुटबल टोली घोषणा

असार ६, २०८२ |खेल ब्युरो
एएफसी महिला एसियन कपको छनोट चरणका लागि राष्ट्रिय महिला फुटबल टोली घोषणा

काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप-२०२६ को छनोट चरणका लागि राष्ट्रिय महिला फुटबल टोली घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल संघ-एन्फाले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले अनुभवी र युवा खेलाडीको मिश्रण समेट्दै टोली चयन गरेका हुन् । 

टोलीमा नयाँ अनुहारको रूपमा राइट ब्याक प्रतीक्षा चौधरीले पहिलोपटक स्थान बनाएकी छन् । एपीएफ क्लबबाट खेल्दै आएकी प्रतीक्षाले टिममा स्थान बनाउँदा सुष्मा तामाङ र तुलसा बोहोरा टिमबाट बाहिरिएका छन् ।

एसियन कप छनोटमा नेपाल समूह 'एफ' मा छ । यस समूहमा उज्वेकिस्तानसँगै लाओस र श्रीलंका पनि रहेका छन् । नेपालले छनोट चरणमा लाओससँग असार १५ गते, श्रीलंकासँग १८ र आयोजक उज्वेकिस्तानसँग असार २१ गते प्रतिस्पर्धा गर्नेछ ।

यसपटकको छनोटमा कुल ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेताले अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने छन् । अस्ट्रेलिया आयोजकका रूपमा सिधै छनोट भइसकेको छ । यस्तै चीन, दक्षिण कोरिया र जापानले पनि छनोट चरणबाटै मुख्य प्रतियोगिताको टिकट पक्का गरिसकेका छन् ।

नेपाली टोलीमा गोल रक्षकको रूपमा कप्तान एन्जिला तुम्बापो सुब्बा, उषा नाथ र अञ्जना राना मगर सामेल छन् । डिफेन्डरमा गीता राना, निसा थोकर, समीक्षा घिमिरे, मनमाया दमाइ, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना र अमृता जैसीलाई छनोट गरिएको छ । 

मिडफिल्डर विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरू लिम्बू, सविता रानामगर र सरस्वती हमालले अन्तिम टोलीमा स्थान बनाउँदा फरवार्डका रूपमा सावित्रा भण्डारी, रश्मी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेलले टिममा स्थान पक्का गरेका छन् ।