एसीसी अन्डर-१६ इस्टर्न जोन कपका लागि नेपालको १४ सदस्यीय टोली घोषणा

असार ५, २०८२ |खेल ब्युरो
एसीसी अन्डर-१६ इस्टर्न जोन कपका लागि नेपालको १४ सदस्यीय टोली घोषणा

काठमाडौं । मलेसियामा हुने एसीसी अन्डर-१६ इस्टर्न जोन कप क्रिकेट प्रतियोगिताका लागि नेपालको १४ सदस्यीय टोली घोषणा गरिएको छ । 

नेपाल क्रिकेट संघ, क्यानले बिहिबार कप्तान विपिन शर्माको नेतृत्वमा अन्तिम टोली सार्वजनिक गरेको हो । विपिनलाई उपकप्तानको रूपमा शूर्यान्सु कोइरालाले साथ दिनेछन् । टोलीमा थप ४ जनालाई रिजर्भ खेलाडीको रूपमा सामेल गरिएको छ ।

गत साता सुर्खेतमा सम्पन्न टीबी साह मेमोरियल यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आधारमा टोलीको घोषणा गरिएको हो । नेपाल यस प्रतियोगितामा गत संस्करणको विजेताका रूपमा सहभागी हुँदैछ ।

यसअघि सन् २०२३ मा नेपालले फाइनलमा आयोजक राष्ट्र मलेसियालाई पराजित गर्दै उपाधि जितेको थियो । नेपाल हालसम्म भएका तीन वटै संस्करणको च्याम्पियन समेत हो ।

प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन् । यी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल सम्मिलत समूह ‘ए’मा सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह 'बी' मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।

असार ६ गतेदेखि २१ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि नेपाली टोली शुक्रबार मलेसिया जाँदै छ । नेपालले आफ्नो पहिलो खेलमा असार ८ गते सिंगापुरको सामना गर्ने छ । दोस्रो खेल १० गते जापानविरूद्ध, तेस्रो खेल १५ गते इन्डोनेसियाविरूद्ध र चौथो खेल असार १७ गते भुटानविरूद्ध हुनेछ ।

दुवै समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल खेल असार १९ तथा फाइनल र तेस्रो स्थानका लागि २१ गते प्रतिस्पर्धा हुनेछ । खेलहरू मलेसियाका ३ भिन्दाभिन्दै मैदानमा हुनेछन् ।