खेलाडीका लागि बनिरहेको छ अन्तर्राष्ट्रिय स्तरको ‘फिटनेस सेन्टर’

असार ३, २०८२ |प्रदीप लेखी
खेलाडीका लागि बनिरहेको छ अन्तर्राष्ट्रिय स्तरको ‘फिटनेस सेन्टर’

काठमाडौं । शारीरिक तन्दुरुस्ती खेलाडीका लागि नभई नहुने कुरा हो । तर, सरकारीस्तरबाट अन्तर्राष्ट्रिय स्तरको फिटनेस सेन्टर नहुँदा खेलाडीको फिटनेसका लागि ठूलो रकम खर्च हुने गरेको थियो । तर, अब राष्ट्रिय खेलकुद परिषद्ले फिटनेस सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ । यससँगै बायो मेकानिकल ल्याब पनि निर्माण भइरहेको छ, जसबाट खेलाडीको इन्ड्युरेन्स परीक्षण समेत हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्ले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्र परिसरमा निर्माण गरिरहेको नेशनल स्पोर्टस फिटनेस सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । ३ करोड ५ लाख रुपैयाँको लागतमा भइरहेको फिटनेस सेन्टरको निर्माण सकेर असार मसान्तभित्रै खुल्ला गर्ने योजनामा परिषद् छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमै खेलाडीहरूले उच्च प्रविधियुक्त प्रशिक्षण लिँदै आएका छन् । तर नेपालमा पूर्वाधार नबन्दा खेलाडीले समस्या बेहोदै आएका थिए । ढिलै भए पनि फिटनेस सेन्टर निर्माण भएपछि खेलाडीले पनि राहत महसुस गरेका छन् ।

फिटनेस सेन्टरका लागि चाहिने उपकरण खरिद भएर आइसकेको छ । अब जडान हुन मात्र बाँकी छ । यसमा फिटनेस एन्ड कन्डिसनिङका लागि जिम सेन्टर हुनेछ भने प्रशिक्षणपश्चात खेलाडीको स्टामिना परीक्षण गर्न बायो मेकानिकल ल्याब समेत स्थापना हुनेछ ।

हुन त यसअघि पनि खेलकुद परिषद् परिसरमा सानोतिनो जिम सेन्टर नभएको होइन, तर खेलाडीलाई चाहिने खालको नयाँ प्रविधियुक्त जिम सेन्टर थिएन । नेपाली खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा त्यहाँका फिटनेश सेन्टरले उनीहरूलाई निकै लोभ्याउँथ्यो । तर अब आफ्नै देशमा बन्न लागेको फिटनेश पूर्वाधारले उनीहरू उत्साहित छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले 'मिसन ट्वान्टी-ट्वान्टी सिक्स' को नारासहित आगामी एसियाडमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने अठोट बोकेको छ । त्यसका लागि योग्य, सक्षम् र प्रतिभावान खेलाडी मात्र भएर पुग्दैन । नयाँ प्रविधियुक्त संरचना निर्माण पनि उत्तिकै आवश्यक थियो । निर्माण भइरहेको फिटनेश सेन्टरले अब खेलाडीको आवश्यक्तालाई केही हदसम्म पूरा गर्नेछ ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।