क्लब विश्वकप : रियाल मड्रिडलाई कसले देला चुनौती ?

असार ३, २०८२ |विनयज्योति सापकोटा
क्लब विश्वकप : रियाल मड्रिडलाई कसले देला चुनौती ?

काठमाडौं । क्लब विश्वकप २०२५ को समूह ‘एच’मा विश्वका फरक फरक कुनाबाट आएका चार क्लब भिड्न तयार छन् । यो समूहमा स्पेनको रियाल मड्रिड, साउदी अरेबियाको अल हिलाल, मेक्सिकोको पाचुका र अस्ट्रियाको रेड बुल साल्जबर्ग छन् । यो समूहमा कुनै पनि अफ्रिकी क्लब छैनन् । तर युरोपका दुई साथै एसिया र अमेरिकाका बलिया टोली आफ्नो क्षमता प्रदर्शनका लागि तयार छन् । के यी क्लबले क्लब विश्वकपमा सबैभन्दा सफल रियाललाई चुनौती दिन सक्लान् ?

समूह ‘एच’को प्रमुख आकर्षण, रियाल मड्रिड हो । जुन क्लब विश्वकपको इतिहासमै पाँच पटक च्याम्पियन बनिसकेको छ । विश्वकपअघि नै तीन खेलाडी अनुबन्ध गरेर र प्रशिक्षक परिवर्तन गरेको रियाललाई यस पटक पनि बलियो दाबेदार मानिएको छ । सुपर कम्प्युटरको भविष्यवाणी अनुसार रियालको नकआउट चरण पुग्ने सम्भावना ९३ प्रतिशतभन्दा बढी छ भने समूह विजेता बन्ने सम्भावना ७६ प्रतिशत छ । 

यो वर्ष रियाल मड्रिड नयाँ स्वरूपमा देखिनेछ । जहाँ प्रशिक्षकको जिम्मेवारी लिजेन्ड कार्लो एन्सेलोट्टीको सट्टा मिडफिल्डर मेस्ट्रो जाबी अलोन्सोको काँधमा छ । नवीन प्रतिभाहरू ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड र डीन हुइसेन जस्ता खेलाडी नयाँ रणनीतिको हिस्सा बनेका छन् ।

रियालको पहिलो प्रतिस्पर्धी हुनेछ अल हिलाल । क्लब विश्वकपमा हिलालको अनुभव निकै राम्रो छ । अघिल्लो संस्करणको फाइनलमा हिलाल र रियालले उपाधिका लागि खेलेका थिए । तर रियालले ५-३ ले जितेर विश्वविजेता बनेको थियो । यसले अल हिलाल समूहको दोस्रो बलियो टोली मानिएको छ । यसलाई पुष्टि गर्न स्टार खेलाडी- अलेक्सान्दर मिट्रोभिक, जोआओ कान्सेलो, रुवेन नेभेस, बोनु, र मिलिन्कोभिक-साभिच, सलेम अल दावासारी जस्ता चर्चित अनुहार पर्याप्त छ । 

प्रशिक्षक पूर्वइन्टर मिलानका कोच सिमोने इन्जागीको नेतृत्वमा अल हिलाल कुनै पनि विपक्षीलाई स्तब्ध पार्न सफल छ । यो टोली साउदीको एक मात्र प्रतिनिधि रहेकाले उसको समर्थन बलियो हुने अनुमान छ ।

अल हिलालाई मात्रै होइन रियाललाई नै टक्कर दिने क्षमताको क्लब हो- साल्जबर्ग । तर, च्याम्पियन्स लिगमा सात खेलमा पराजित भएर ३४औं स्थानमा समेटिएपछि क्लबले प्रशिक्षक र रणनीति परिवर्तन गरेको छ । अब थमस लेट्स्चको रणनीतिले साल्जबर्गको प्रदर्शन र भविष्य तय गर्नेछ । अघिल्लो सिजन कमजोर प्रदर्शनपछि पुनःस्थापनाको खोजीमा रहेको साल्जबर्गसँग उत्कृष्ट फर्ममा रहेका स्ट्राइकर डोर्गेलस नेने छन् । नेनेले पछिल्ला नौ खेलमा आठ गोल गरेका छन् । उच्चस्तर र युरोपेली फ्लेवरको इन्टेन्स फुटबल खेल्ने साल्जबर्ग नकआउट पुग्ने प्रबल दावेदार हो ।

पाचुका, मेक्सिकन फुटबलको जननि मात्रै होइन, घरेलु फुटबल विकासको आधार समेत हो । यहाँ देशका मात्रै होइन विश्वकै ट्यालेन्टले जन्म लिन्छन् । भर्खरै मात्र कन्काकाफ च्याम्पियन्स कप जितेर विश्वकप स्थान पक्का गरेको थियो- पाचुका एफसीले । पूर्वप्रिमियर लिग स्ट्राइकर सालोमोन रोन्डन जस्ता अनुभवी स्ट्राइकरको नेतृत्व पाएकाले यो क्लब राम्रो प्रदर्शन गर्ने योजनामा छ । तर यो क्लबका बाँकी खेलाडी र प्रशिक्षक कम अनुभवका भएकाले समूह ‘एच’मा उसलाई बलियो टोली भने मानिएको छैन । उसका लागि क्लब विश्वकप आफूलाई स्थापित गर्ने प्लाटर्फम भने हो ।

समूह एचमा रियाल मड्रिडले यसअघि आफ्ना सबै विपक्षीसँग खेलिसकेको अनौठो संयोग परेको छ । जुन अरू समूहमा छैन । रियालले तिनै क्लबलाई हराएको इतिहास छ । त्यसैले नकआउटमा रियालको स्थान लगभग सुरक्षित देखिए पनि बाँकी तीन क्लबबीचको लडाइँ रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्नेछ ।

- एजेन्सीहरूको सहयोगमा


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।