रियल मड्रिडले रिभर प्लेटका मिडफिल्डर मास्तान्तुओनोसँग गर्‍यो ६ वर्षको सम्झौता

जेष्ठ ३१, २०८२ |खेल ब्युरो
रियल मड्रिडले रिभर प्लेटका मिडफिल्डर मास्तान्तुओनोसँग गर्‍यो ६ वर्षको सम्झौता

काठमाडौं । स्पेनिस जायन्ट रियल मड्रिडले अर्जेन्टिनी क्लब रिभर प्लेटका १७ वर्षीय मिडफिल्डर फ्राङ्को मास्ता-न्तुओनोसँग ६ वर्षको सम्झौता गरेको छ। क्लबले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।

गत हप्ता रियल मड्रिडले उनलाई झण्डै ४५ मिलियन अमेरिकी डलरमा अनुबन्ध गर्ने सहमति गरेको थियो। प्रतिभाशाली किशोर खेलाडी मास्तान्तुओनो आउँदो अगस्ट १४ बाट आधिकारिक रूपमा रियल मड्रिडको खेलाडी बन्नेछन्। 

उनी विंगरको भूमिकामा समेत खेल्न सक्षम छन्। रिभर प्लेटको युथ सिस्टम हुँदै आएका मास्तान्तुओनो २०२४-२५ सिजनमा क्लबको पहिलो टोलीमा समावेश भएका थिए। 

सन् २०२३ को फेब्रुअरीमा उनी रिभरको इतिहासमै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका थिए। अर्कोतर्फ, उनी गत साता चिलीविरूद्धको विश्वकप छनोट खेलमा अर्जेन्टिनाबाट मैदान उत्रिएसँगै, देशको लागि अफिसियल खेल खेल्ने १७ वर्षीय कान्छा खेलाडी बनेका छन्। 

अप्रिलमा भएको सुपरक्लासिकोमा बोका जुनियर्सविरूद्धको खेलमा उनले प्रहार गरेको शानदार फ्रि-किक गोलपछि उनलाई म्यानचेस्टर युनाइटेड र च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मेनजस्ता क्लबहरूसँग पनि जोडिएको थियो। 

मास्तान्तुओनो रियल मड्रिडको यो सिजनको तेस्रो नयाँ अनुबन्ध हुन्। यसअघि क्लबले प्रिमियर लिगका डिफेन्डर डिन हुइजसेन र ट्रेन्ट अलेक्ज्यान्डर अर्नोल्डलाई भित्र्याइसकेको छ।