स्कटल्यान्डमा आयोजना हुने टी-२० आई सिरिजका लागि नेपाली टिमको घोषणा

जेष्ठ ३०, २०८२ |खेल ब्युरो
स्कटल्यान्डमा आयोजना हुने टी-२० आई सिरिजका लागि नेपाली टिमको घोषणा

काठमाडौं । स्कटल्यान्डमा आयोजना हुने टी-२० आई सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ। क्यानले पूर्वनिर्धारितरूपमा स्कटल्यान्ड भ्रमणमा रहेका खेलाडीलाई निरन्तरता दिएको छ।

नेपाली टिमका मुख्य दुई खेलाडी, गुल्सन झा र सोमपाल कामी घाइते भएपछि टिमबाट बाहिर छन्। क्यानले किरण ठगुन्ना, लोकेश बम र रुपेश के सिंहलाई सिरिजमा समावेश गरेको छ। 

यससँगै रोहितकुमार पौडेलको टिममा लिग टू खेलेका सबै खेलाडी छन्। ती खेलाडीहरूमा आशिफ शेख, कुशल भुर्तेल, अनिलकुमार शाह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिं ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव र रिजन ढकाल रहेका छन्। 

सिरिजमा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स समावेश छन्। नेपालले आगामी असार २ गते नेदरल्यान्ड्ससँग सिरिजको पहिलो खेल खेल्नेछ। त्यसैगरी, स्कटल्यान्डसँग असार ३ गते खेल हुनेछ। त्यसपछि ५ र ६ गते क्रमशः नेदरल्यान्ड्स र स्कटल्यान्डसँग खेल्ने तालिका छ। 

यसअघि भएको आइसीसी विश्वकप लिग टूमा नेपालले चारमध्ये तीन खेल जितेको थियो।