प्रचण्ड कप महिला राष्ट्रिय भलिबल : नेपाल पुलिस क्लब फाइनलमा

जेष्ठ ३०, २०८२ |खेल ब्युरो
प्रचण्ड कप महिला राष्ट्रिय भलिबल : नेपाल पुलिस क्लब फाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लब पहिलो संस्करणको प्रचण्ड कप महिला राष्ट्रिय भलिबलको फाइनलमा प्रवेश गरेको छ। अब उसले उपाधिका लागि अर्को विभागीय टिम नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

पोखरा रंगशालाको कभर्डहलमा पुलिस र एभरेस्टबीच भएको सेमिफाइनलको पहिलो सेट सुरूमा प्रतिस्पर्धात्मक बन्यो। कुनै बेला एभरेस्ट १०-९ को स्थितिमा थियो। तर एभरेस्टले १६ अंक बनाउँदा नै पुलिसले सेट जित्यो। 

दोस्रो सेट भने एभरेस्टका लागि झनै सम्झनलायक रहेन। उक्त सेट पनि २५-१३ ले गुमायो। अन्तिम तथा तेस्रो सेट पनि पुलिसले २५-११ ले जित्दै फाइनलमा स्थान बनायो। आजको दोस्रो सेमिफाइनलमा न्यू डायमन्ड र एपीएफको भिडन्त थियो। सो खेलमा न्यू डायमन्डलाई हराउँदै एपीएफले उपाधि भिडन्त पक्का गरेको हो । 

पहिलो सेटको खेल एपीएफले २५-१७ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा न्यू डायमन्डले लगातार अग्रता बनाएको थियो। न्यू डायमन्डले १२-११ सम्म अग्रता बनाए पनि त्यसपछि एपीएफले खेलमा पुनरागमन गर्‍यो । 

अन्तिम समयमा खेल प्रतिस्पर्धात्मक बने पनि एपीएफ २६-२४ ले विजयी भयो। तेस्रो सेटमा सुरूआतबाटै अग्रता बनाएर एपीएफ २५-१९ ले विजयी भएको हो ।