काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालले लगातार दोस्रो पराजय बेहोरेको छ । मंगलबार लाओ नेसनल रंगशालामा सम्पन्न खेलमा नेपाल २-१ ले पराजित भएको हो । लाओससँगका पछिल्ला ६ खेलमा नेपालले बेहोरेको यो नै पहिलो हार समेत हो ।
खेलको १३ औं मिनेटमा घरेलु टोलीका मिडफिल्डर डामोथ थोङखामसाथले गोल गरेपछि नेपाल १-० ले पछि परेको थियो । खेलको ३२ औं मिनेटमा लाओसका कप्तान नालोङ्क्षेत्रको प्रहार नेपाली डिफेन्डरले रक्षा गरेका थिए ।
३८ औं मिनेटमा नेपाल अर्को गोलको नजिक पुगेर जोगिएको थियो । ४३ औं मिनेटमा फोथासनको उत्कृष्ट क्रस दमोथ थोङ्का मोसभाथलाई मार्कमा राखेका रोहित चन्दले गोल हुनबाट बचाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको लाओसले ५० औं मिनेटमा अर्को गोल थप्यो ।
यस पटक सब्स्टिच्युट खेलाडी पिटर फन्थाभोङले गोल गरेका थिए । दुई गोलले पछि परेको नेपालका लागि मनीष डाँगीले पेनाल्टीमा गोल गरे । घरेलु टोलीका डिफेन्डर भोङ्सा भत्सानाले पोस्टअघि मनीषलाई नै लडाएपछिको पेनाल्टीमा उनले गोल गरेका हुन् ।
त्यसपछि दुवै टिमले राम्रा अवसरको सिर्जना गरेको भए पनि नेपाल पराजित भएको हो । जारी छनोटमा यो नेपालको लगातार दोस्रो हार हो भने लाओसको पहिलो जित हो ।
पहिलो खेलमा नेपाल मलेसियासँग २-० र लाओस भियतनामसँग ५-० ले पराजित भएको थियो । यो समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९ औं संस्करणमा स्थान बनाउनेछ ।