काठमाडौं । नेपाली पुरूष फुटबल टिमले मंगलबार एएफसी एसियन कप छनोटमा लाओसको सामना गर्दैछ। नेपालले छनोटको आफ्नो दोस्रो खेलमा लाओसको सामना गर्न लागेको हो।
लाओससँगको खेलको तयारीका लागि नेपालले जेठ २२ मा हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा नेपाल र हङकङ दुवै टिमले गोल गर्न सकेन्। तर फिफा वरीयतामा नेपालभन्दा २२ स्थान माथिको टिमविरूद्ध बराबरी खेलेपछि अहिले नेपाली टिमको मनोबल उच्च भएको छ।
फिफाको वरीयतामा नेपाल एक सय ७५औं स्थानमा छ भने लाओस एक सय ९०औं स्थानमा छ। यी दुवै टिमले छनोटमा हारबाट सुरूआत गरेका थिए। लाओसलाई भियतनामले ५-० को फराकिलो अन्तरले पराजित गरेको थियो।
त्यसैले नेपाल र लाओस छनोटमा पहिलो जितको खोजीमा छन्। नेपालसँगको खेलका लागि लाओसले भने यो विन्डोमा मैत्रीपूर्ण खेल खेलेको छैन्। त्यसैले उसको अहिलेको फर्म बुझ्न नेपाली टिमलाई सहज छैन् ।
नेपालले पछिल्लो खेल भनेकै दुई महिना अघि भियतनामसँग खेलेको हो । तर पछिल्ला पाँच खेलमा लाओसले कुनै खेल जितेको छैन्। तर उसले फिलिपिन्स र इन्डोनेसियाजस्ता बलिया टोलीसँग बराबरी खेलेको छ।
यसले लाओस उत्कृष्ट फर्ममा रहेको देखाउँछ। यता, मलेसियासँग २-० ले पराजित भएपनि नेपालले मार्चको विन्डोमा सिंगापुरलाई पहिलो पटक हराएको थियो। पछिल्ला पाँच खेलमा दुई जित र दुई हार ब्यहोरेको नेपाल आजको खेलका लागि तयार रहेको छ। नेपाली टिम जितको लक्ष्यसहित लाओस गएको हो।
नेपाल र लाओसबीचको खेल आज साँझ पौने ६ बजे सुरू हुनेछ।